अपडेट 
२०८० फाल्गुन २९, मंगलवार ०८:०१

मुलुककै सबैभन्दा होँचो गाउँ रहेको धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा निःशुल्क वाइफाइ सेवा दिने भएको छ ।

आउँदो नयाँ वर्षको दोश्रो महिनादेखि निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउन सो गाउँपालिकाले इन्टरनेट प्रदायक कम्पनी सिबुसीसंग सम्झौता गरेको छ ।

सिबुसी इन्टरनेट सेवाका लागि ई–बिडिङमा इन्टरनेट सेवा जडान गर्ने जिम्मा पाएको छ । जस अनुसार भएको सो सम्झौतामा सिबुसीले इन्टरनेटसेवा जडानका लागि आफ्नो प्राविधिक काम अगाडि बढाएको छ । गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले स्थानीय तहमा निर्वाचित हुनु अघि स्थानीय मतदातासंग ‘फ्रि वाइफाइ’ उपलब्ध गराउने वाचा गरेका थिए ।

सोही अनुसार सो प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले बताए । फ्रि वाइफाइ’ सेवा सञ्चालनमा आएसंगै पालिकावासी पैसा खर्च नगरी इन्टरनेटको सुविधा पाउने भनेको छ । ‘फ्रि वाइफाइ’ उपलब्ध भएसंगै इन्टरनेट प्रयोग गर्न पालिकावासीले डेटा खरिद गरिरहेको खर्च बचत हुने अध्यक्ष यादवको भनाइ छ ।

अध्यक्ष यादवले ‘फ्रि वाइफाइ’ योजनाअन्तर्गत एकैपटक २० देखि २५ हजार मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउने बताए । पालिकासंग सिबुसीको भएको सम्झौताअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनी सिबुसीले पालिकाभर ४८ स्थानमा एक्सेस प्वाइन्ट जडान गर्नेछ ।

प्रति एक्सेस प्वाइन्ट मार्फत एकैपटक कम्तीमा ८ सय मोबाइल प्रयोगकर्ताले इन्टरनेट सेवा प्रयोग गर्न पाउने पालिकाले जनाएको छ । डिपिआरमा ४१ स्थानमा एक्सेस प्वाइन्ट आवश्यक देखिए पनि इन्टरनेटको सहज उपलब्धताका लागि ४८ स्थानमा जडान भएको अध्यक्ष यादवले बताए ।

उनले ४५ दिनभित्र एक्सेस प्वाइन्ट जडानसहित सम्पूर्ण प्राविधिक कार्य पूरा गरेर २०८१ जेठ १ गतेबाट ‘फ्रि वाइफाइ’ सेवा उपलब्ध गराउने लक्ष्य रहेको इन्टरनेट प्रदायक कम्पनीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News