अपडेट 
२०८० फाल्गुन २९, मंगलवार ०८:०५

प्रत्येक वर्ष हुने गरेको माध्यमिकी परिक्रमाले नेपाल–भारतको सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई जोड्ने गर्दछ । तर धर्मको बोटो नै अवरुद्ध गर्ने प्रयास हुँदा नेपाल–भारत सीमाक्षेत्रका स्थानीयवासी चिन्तित हुँदै आएको छ ।

नेपाल–भारतको सीमावर्ती क्षेत्र तर्फ हुँदै ऐतिहासिक धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिकरुपमा समेत दुवै क्षेत्रका जनताका लागि माध्यमिकी परिक्रमाले एक अर्काप्रतिको भाईचारा, सामाजिक, सांस्कृतिक तथा परम्परागतरुपमा चल्दै आएको बेटीरोटीको सम्बन्धको निरन्तरतालाई पनि यसले जगेर्ना गर्दै आएको छ ।

होली पर्व हुनु दुई साता अघिदेखि आरम्भ भएको मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतको सीमावर्ती क्षेत्र अवस्थित महादेव मन्दिरलगायत विभिन्न कुटी, मठ मन्दिरमा १५ दिनसम्म आश्रय लिँदै तिर्थालुहरुले धार्मिक पैदल यात्रा गर्ने गर्दै आएको छ । तर यसमा भने दुई देशको सीमाक्षेत्र तर्फ पुल निर्माणमा अवरोध खडा हुँदा दुवै तर्फका तिर्थालुहरुलाई परिक्रमा गर्न समस्याको सामना गर्नु परिरहेको छ ।

मिथिला विहारी नगरपालिकास्थित कचुरीमा रहेको मिथिलाविहारी मन्दिरबाट निस्केको डोला र जानकी मन्दिरबाट निस्केको डोला जनकपुरधामस्थित हनुमानगढीमा एकत्रित भई त्यसको अर्को दिन भारतको कलनास्थित कल्याणेश्वर मन्दिरमा आश्रय लिन पुगेको छ ।

त्यसपछि भारतमै रहेको गिरिजास्थान र डोलासहित तिर्थालुहरु त्यसको अर्को दिन मटिहानी पुग्ने गर्दछ । गिरिजास्थानबाट नेपाल तर्फको मुखियापट्टी मुसहरनीयास्थित बेला नाकामा रहेको जमुनी नदी हुँदै मटिहानी जाने धार्मिक बाटो रहेको छ । तर विगत करिब पाँच वर्षदेखि नेपाल सरकारले निर्माण गरिरहेको पुलको कार्यमा अवरोध खडा गरेपछि निर्माणधिनको पुलको काम ठप्प भएको छ ।

जसले गर्दा धार्मिक गतिविधिलगायतका कामकाजमा समेत कठिनाई उत्पन्न हुने गरेको स्थानीय अशेश्वर यादव बताउँछन् । स्थानीय यादवले भने, ‘सहजैरुपमा पुल निर्माणको कामकाज भइरहँदा भारतीय एसएसबीले अवरोध खडा गरि पुल निर्माण कार्य बन्द भयो, त्यस पछि केही वर्ष पुल निर्माण कार्य अलपत्र रह्यो

पछि कोरोना संक्रमणकाल आयो, त्यसको रातारात जमुनी नदी पारी रहेका केही थान सीमास्तम्भहरु नेपाल तर्फ स्थापना गर्यो, र अब त कुनैपनि हालतमा पुल निर्माणको हुन दिने अवस्था छैन, बरु नदीको पारीतर्फ रहेको खेतीयोग्य जग्गा जमिनको लालपूर्जा रहँदा पनि हामीलाई बेदखल गरि उब्जनी गर्नमा समेत रोक लगाएको छ ।’ सरकारले धार्मिक यात्रालाई मध्यनजर गर्दै दुवै देशवासीलाई सहज हुने गरि पुल निर्माण कार्य अघि बढाएको थियो ।

स्थानीय विजयकुमार पाण्डेयले नेपाल–भारत सीमावर्ती क्षेत्र अवस्थित दशगजामा रहेको सीमास्तम्भलाई कोरोना संक्रमणकालको कहरको बेलामा रातारात सारेर नेपाल भूमिमा गाडेर पुल निर्माण कार्यमा प्रत्यक्षरुपमै भारतीय एसएसबीले अवरोध खडा गरेको बताए ।

यही मध्यमा परिक्रमालाई मध्यनजर गर्दै मुखियापट्टी मुसहरनीया गाउँपालिकाले तिर्थालुहरुलाई आवतजावतमा समस्या उत्पन्न नहोस् भनेर अस्थायी पुल निर्माण गर्ने क्रममा स्थानीयस्तरमा भेलासमेत डाकेको थियो । सो भेलामा धनुषा– ३ का प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले पुल निर्माणका लागि पहल संघ सरकारबाटै पहल गर्ने र तत्काल नेपाल भूमिमा पर्ने गरि बेली ब्रिज स्थापना गर्ने योजना रहेको स्थानीयवासी समक्ष बताइन् ।

नेतृ महतोले भनिन्, ‘विगतमा भारतीय पक्षले किन पुल निर्माण गर्न दियो, र अब सो पुल निर्माण क्षेत्र कसरी भारतमा प¥यो भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताइन् । उनले अघि थप्दैँ भनिन्, ‘नेपाल–भारत सीमावर्ती जनताको प्राचीनकालदेखिकै सम्बन्ध रहेकोले दुवै देशका नागरिकलाई ख्याल गर्दै जनतालाई कुनै पनि समस्या वा कठिनाईबाट गुज्रिनु नपर्ने गरि जनताको दुःखको समस्याको समाधान हुनु पर्छ, यसका लागि दुवै देश गम्भीर हुनुपर्छ ।’ तत्काल धार्मिक यात्रामा कुनै पनि बाधा व्यवधान उत्पन्न नहोस् भन्ने उद्देश्यले अस्थायीरुपमा निर्माण गरिएको पुल मध्यमा परिक्रमा समापन पछि भारतीय पक्षले पुल नै भत्काउने गरेको मुखियापट्टी मुसरहनीय गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले बताए ।

भारत सरकारले जग्गा नै दाबी गरे पछि निर्माणाधिन पुलको संरचना नै अलपत्र परेपछि यसको विकल्पमा आफ्नो भूमि तर्फ पर्ने जमुनी नदीमाथि बेलीब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोली, जनप्रतिनिधिहरु र स्थानीयवासीहरुको समेत सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News