२०८० फाल्गुन ३०, बुधबार ०६:२६

सुनको सिक्री दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गरे पछि वीरगञ्जबाट प्रहरीले बेहुलासहित ५ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट बेहुलासहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

सुनको सिक्री नपाएको भन्दै बाराको कलैया उपमहानगरपालिका–४ स्थित सिनेमा चोक बस्ने उमेश साहले मण्डपबाट नै विवाह अस्वीकार गरेका थिए । उनले पर्साको वीरगञ्ज महानगरपालिका–२४ स्थित रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

पीडित परिवारले बेहुला पक्ष विरुद्ध पर्सा प्रहरीमा जाहेरी दिए पछि आरोपितहरुलाई पक्राउ गरेको उनले बताए । बेहुलाले मधेशी समाज र रीतीरिवाज अनुसार जयमाला लगायतका विधि सकेर अबेर राति मण्डपमा बसिरहेको बेला विवाह गर्न आलटाल गर्दै विवाह छोडेर जाने प्रयास गरे पछि बेहुली पक्षले प्रहरीलाई खबर गर्दा दुवै पक्षलाई जिप्रकामा झिकाएर छलफल गराउन खोजेको थियो । तर सहमति नजुटेपछि बेहुला पक्षका ५ जनालाई नियन्त्रणमा लिएको छ ।

अधिवक्ता प्रतिमा चौरसियाका अनुसार यस्तो अपराध गर्नेलाई कानुन बमोजिम तीन वर्ष कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

Comment

Related News

Latest News

Trending News