अपडेट 
२०८० चैत्र १, बिहीबार ०७:२१

नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले चीनको योजनालाई कांग्रेसले अस्वीकार गर्दा वामपन्थीहरुले नयाँ गठबन्धन बनाएको आरोप लगाएका छन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित बजारमा आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री यादवले नेपालको दक्षिणीक्षेत्रसम्म चीनले ऋणमूलक वन वेल्ट वन रोड बनाउन खोज्दा कांग्रेसले अस्वीकार गरेपछि वामपन्थीहरुले नयाँ गठबन्धन बनाएको बताए ।

शहीद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले नेपाललाई ऋणमा डुबाएर श्रीलंका जस्तै कब्जा गर्न चाहने मनसायका साथ चीनले नेपालमा पनि आयोजना ल्याउन चाहेकोले कांग्रेसले अवरोध गर्दाको परिणाम एमालेसंगको गठबन्धन बन्न पुगेको बताए । उनले वर्तमान सरकार छ महिना भित्र ढल्ने टिप्पणी गरे ।

प्रतिष्ठानका अध्यक्ष समेत रहेका सहमहामन्त्री यादवले देशमा राजनीतिकरुपमा दुई ध्रुवमा विभाजित हुन पुगेको बताए । उनले वामपन्थी र लोकतान्त्रिक शक्ति गरि दुई गठबन्धनले मात्र देशको हित हुने बताउँदै सहमहामन्त्री यादवले जसपा, नेकपा एस जस्ता पार्टीहरुको पतन निश्चित रहेको दावी गरे । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारामा जिताएर भूल भएको बताउँदै कांग्रेसको मत लिएर मन्त्री बनेका उपेन्द्र यादवको पतन हुने निश्चित रहेको टिप्पणी गरे ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादवले रौतहटबाट माधवकुमार नेपाल र बाराबाट उपेन्द्र यादवलाई जिताएर कांग्रेसले ठूलो भूल गरेको बताए । नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका मन्त्री यादवले आक्रोशित हुँदै एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसले जिताउनमा खेलेको महत्वपूर्ण भूमिकालाई बेवास्ता गर्नु ठूलो भूल गरेको बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री यादवले जसपाको सरकारका कारण मधेशले छ वर्षमा केही गर्न नसकेको समेत बताए । वि.सं. २०२९ सालमा नयाँ शिक्षा ऐनको विरोध गर्दै गर्दा प्रहरीको गोलीबाट मारिएका धनुषाका विद्यार्थी नेताद्वय शहीद कामेश्वर र कुशेश्वरको स्मरणमा सो प्रतिष्ठानको भवन निर्माण गरिएको छ ।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्यहरु रामसरोज यादव, कुमरकान्त झा, शेषनारायण यादव, अञ्जना पण्डित, कांग्रेस महोत्तरीका सभापति नागेन्द्रप्रसाद यादव, जिवनाथ चौधरी, कृष्णा सिंह, राजकिशोर राउत लगायतको समेत सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News