अपडेट 
२०८० चैत्र १, बिहीबार २०:४५

कुवेतमा गाडीको ठक्करबाट धनुषाका एक जनासहित तीन जनाको मृत्यु भएको छ ।

ठक्करबाट भर्याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।

कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जनाको शव नेपाल पठाइने भएको छ । पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनीहरूको शव नेपाल पठाउन लागिएको हो ।

कुवेतको महाबुल्ला एरियामा मंगलबार बिहान गाडीको ठक्करबाट तीन जना नेपालीको ज्यान गएको थियो ।

मृतक तिनै जना पापाजोन कम्पनीमा कार्यरत थिए । उनीहरूको शव पोष्टमार्टमका लागि फरवानिया हस्पिटलमा राखिएको र पोष्टमार्टमपछि शवहरू नेपाल पठाइने दूतावासले जनाएको छ ।

उक्त घटनाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले समेत जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावाससँग मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।

मन्त्री अर्यालले मृतकको शव नेपाल ल्याउन दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन समेत दिए । मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया समेत अघि बढाउन भनेका हुन् ।

बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको कुवेती प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

हवालीमा बस्दै आएका सुजन र धिरज गत सोमबार राती महाबुल्लास्थित साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान रूम फर्किने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले नै चलाएको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट तीनै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

Comment


Related News