अपडेट 
२०८० चैत्र २, शुक्रबार ०७:१८

रामनगरस्थित एभरेष्ट चिनी मिलले यस वर्षको उखु क्रसिङ सम्पन्न गरेको छ ।

एभरेष्टले बिहीबार बिहान साढे ४ बजेदेखि चालु सिजन (०८०/८१) को क्रसिङ सम्पन्न गरेको औपचारिक जानकारी गराएको छ ।

यो पटक मिल ८९ दिन चले पनि पटकपटक गरी ७ दिन ‘नो केन’ हुँदा खुद क्रसिङ भने ८२ दिन मात्र भएको छ । उखुको मूल्यलाई लिएर किसानहरु आन्दोलनमा उत्रेका कारण निर्धारित समयभन्दा ११ दिनपछि अर्थात् पुस ४ गतेदेखि मिल चलेको थियो । यस अवधिमा २९ लाख ४ हजार क्विन्टल उखु क्रसिङ गरिएको छ ।

यो परिमाण लक्ष्यको करिब ६ लाख क्विन्टल घटी छ । यसपालि चिनीको ‘रिकभरी’ सरदर ९ प्रतिशत रहे पनि कति चिनी उत्पादन भयो ५ दिनपछि मात्र यकिन हुने एभरेष्टले जनाएको छ । महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार गत वर्ष (०७९/८०) २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी २ लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको एभरेष्टले यो वर्ष ३५ लाख क्विन्टल क्रसिङको लक्ष्य लिइएको थियो ।

यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ९ लाख क्विन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रबन्धक शुक्लाले बताए । तथापि क्रसिङ सिजनको निकट पारेर किसानहरु आन्दोलनमा उत्रेपछि एभरेष्ट लगायतका ठूला मिलहरु निर्धारित समयमा सञ्चालन हुन सकेनन् । यसैलाई अवसर बनाएर सर्लाही र बारा जिल्लाका साना चिनी मिलहरुले आन्दोलन अवधिमा पनि क्रसिङ जारी राखे ।

आन्दोलनका कारण ठूला मिल सञ्चालनमा अन्योल देखिएपछि हतारमा रहेका कतिपय किसानले साना मिलमा उखु खपत गरेकाले ठूला मिलका लागि उखु आपूर्तिमा स्वाभाविक कमी आएको थियो । क्रसिङको उत्तरार्धमा आइपुग्दा प्रतिकूल मौसमले उखु आपूर्तिमा थप समस्या प¥यो । पटकपटक ‘नो केन‘ को स्थिति आयो ।

यी कारणले गर्दा एभरेष्टले लक्ष्यबमोजिम क्रसिङ गर्न नसकेको शुक्लाले जनाए । यो वर्षदेखि एभरेष्टले ५ दिनभित्रै उखुको भुक्तानी दिन थालेकोले मिलप्रति किसानको भरोसा बढे पनि समुचित मूल्य नपाउँदा उखु किसान भने निराश देखिएका छन् । यो नैराश्यको असर आगामी वर्षको उखुखेतीमा पर्ने हुदा उखु अभाव तत्कालै समाधान हुने सङ्केत देखा नपरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवहाले बताए ।

सरकारले गत वर्ष उखुको ५४० रुपैयाँ रेटमा २५ रुपैयाँमात्र थप गरी प्रति क्विन्टल ५६५ रुपैयाँ कायम गरेको छ । यो वृद्धिसँगै सरकाले दिने ७० रुपैयाँ अनुदानसमेत जोड् दा उखुको मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ कायम भएको छ ।

उखु किसानले भने बढ्दो महँगीका कारण उखुको मूल्य प्रति क्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका छन् । “यो माग सम्बोधन नभएसम्म मूल्यका लागि किसान रुने र उखुका लागि चिनी मिल रुने अवस्थामा सुधार आउन सक्दैन,“ कुशवाहाले भने ।

Comment


Related News

Latest News

Trending News