अपडेट 
२०८० चैत्र २, शुक्रबार ०७:३१

चालु आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि सोको विरोधमा रौतहटको फतुवाविजयपुर नगरपालिकाका शिक्षक– कर्मचारीले विद्यार्थीको वार्षिक परीक्षा लिन अस्वीकार गरेका छन् ।

होली पर्व नजिकिँदा समेत तलब वितरण हुने छाँटकाँट नदेखिएका कारण जनाउँदै पालिकाका शिक्षक–कर्मचारीले नगरको शिक्षा तालिकाबमोजिम बिहीबारदेखि सञ्चालन हुने वार्षिक परीक्षा लिन अस्वीकार गरी आन्दोलनमा उत्रेको बताएका छन् ।

जनप्रतिनिधिबीचको आन्तरिक द्वन्द्वका कारण हालसम्म नगर सभा नहुँदा ८ महिनादेखि रोकिएको तलबको माग गर्दै पालिकाका शिक्षक–कर्मचारीले बाध्य भई आन्दोलनस्वरुप वार्षिक परीक्षा बहिष्कार गर्नुपरेको नगर शिक्षा संयोजक राधेश्याम यादवले बताए । पालिकामा आधारभूत र माध्यमिक गरी ३२ वटा सामुदायिक विद्यालय छन् । जसमा कक्षा १ देखि नौसम्म करिब ६ हजार बालबालिका अध्ययनरत छन् ।

शिक्षकको आन्दोलनले ती विद्यार्थीको श्रेणीगत मूल्याङ्कन प्रभावित बनेको छ । नगरका कार्यवाहक मेयर अम्बेया खातुन र नेपाल शिक्षक सङ्घ रौतहटका अध्यक्ष रामकृपाल यादवले विद्यार्थीको भविष्यका लागि पनि वार्षिक परीक्षा सञ्चालन गर्न आग्रह गरे । तलबको माग गर्दै कैयौँ पटक विभिन्न आन्दोलन हुँदैआएको छ । तर पनि कुनै सुनुवाइ नहुँदा सङ्घारमा रहेको मधेशको प्रमुख चाड होलीमा समेत तलब नपाउने सम्भावना देखेर नगरका सम्पूर्ण शिक्षकको सर्वसहमतिमा परीक्षा बहिष्कार गर्ने निर्णय भएको शिक्षा संयोजक यादवले बताए ।

यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले यही महिनाको ४ गते नगर क्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब उनीहरूकै खातामा जाने बताए । खातामा तलब जम्मा भएको जानकारी हुनासाथ परीक्षा सञ्चालन गरिने नगरका शिक्षकको प्रतिबद्धता छ ।

नगरपालिकामा नेपाली कांग्रेस पार्टीका प्रमुख, उपप्रमुख सात जना वडा अध्यक्ष र आठ जना मनोनित गरी १७ जना र अन्य दलका ४ जना वडा अध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतगरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् ।

तत्कालीन पालिका प्रमुख गोपालराय यादव निलम्बित भएसँगै कार्यवाहक प्रमुख अमवेय खातुन र अन्य जनप्रतिनिधिबीच विवाद उत्पन्न भएकै कारण नगर सभा हुन नसकेपछि शिक्षक–कर्मचारीले तलब पाउन नसकेको बताइएको छ ।

परीक्षा सञ्चालन गर्न मेयर खातुनको आग्रह

रौतहटको फतुवा विजयपुरकी कार्यवाहक प्रमुख अम्बेया खातुनले आन्दोलन छोडेर वार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरेकी छन् ।

नगर क्षेत्र अन्तर्गतका कक्षा १ देखि ९ सम्मका ६ हजार बालबालिकाको भविष्यको सवाल भएकाले मेयर खातुनले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरूलाई आग्रह गरेकी छन् ।

नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी चैत ४ गते कोलेनिकाबाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको विवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी छन् । खातुनले आफू कार्यवाहक मेयरको जिम्मेवारी पाएदेखि नै केही जनप्रतिनिधिले विभिन्न भ्रम फैलाएर असफल बनाउने पटक पटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि वार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी छन् ।

Comment


Related News

Latest News

Trending News