अपडेट 
२०८० चैत्र ४, आईतवार ०७:५०

आफ्नो बस्ती आइपुगेका मिथिला मध्यमा परिक्रमाका यात्रीलाई शनिवार बलवा–१० धमौरामा फरक धर्म परम्पराका मुस्लिमले स्वागत गरेका छन् ।

शनिवार सातौँ दिनको यात्रामा धमौराको ध्रुवकुण्ड पुगेका यात्रीलाई मुस्लिम समुदायले स्वागत गरेका छन् । बलवा–१० मा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड वरपरका धमौरा, अधियानपुर, रौजा र भगवतीपुरसहितका बस्ती अहिले मुस्लिम बसोबास बाहुल्य छन् । शुक्रबारको रात मडैमा बिताएका यात्री शनिवार सातौँ दिन ध्रुवकुण्ड पुगेका थिए ।

जिल्लामा इस्लाम (मुस्लिम, मुसलमान) धर्मावलम्बीको बसोबास बाहुल्य रहेको धमौरामा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ध्रुवकुण्ड छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । आफ्नो ठाउँ १५ दिने माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहँदै आउनु र यहाँ यात्रीको स्वागत गर्न पाउनु सबै धमौरावासीको गौरवको कुरा भएको मुस्लिम बताउँछन् । “हिन्दू परम्पराको पवित्र तीर्थस्थल ध्रुवकुण्ड यहाँ छ, अलि पर रौजामा इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअली बाबाको पवित्र मजार (समाधीस्थल) छ”, धमौरा बजारका ७५ वर्षीय हासिम कवारी भन्छन्, “मजारस्थलमा श्रद्धा जनाउँदै हिन्दू मन्नत (आशिष) माग्न आउँछन्, हामी (इस्लाम धर्मावलम्बी) ध्रुवकुण्डबारे चासो राख्छौँ ।” मजार र ध्रुवकुण्ड आफ्नो ठाउँको खास ठाउँ भएका तथा यिनको परिचयले धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने कवारी बताउँछन् ।

यी दुवै धार्मिकस्थलबारे हिन्दू र मुसलमान भन्ने नछुट्याइ सबैको समान चासो हुनुपर्ने धमौरावासी बताउँछन् । यात्रीको सातौँ दिनको रात्रि विश्रामको प्रबन्धमा मुस्लिम आफ्ना छिमेकी हिन्दूसँगै लागेका छन् । “यात्री हाम्रो ठाउँमा राम्रो बस्न सकुन्, यो ठाउँ सबैको मनमा रहन सकोस”, धमौराकै इव्राहिम राइन भन्छन्, “यात्रीको बसोबास र अन्य प्रबन्ध ठिक हुनसके हाम्रो ठाउँबारे राम्रो सन्देश जान्छ ।” मिथिला माध्यमिकी परिक्रमा धर्मको बन्धनले नबाधिँएको धमौराका मुस्लिमको बुझाइ छ । “मिथिलाको महाकुम्भ भनिने यो यात्रा सिङ्गो मिथिला क्षेत्रको साझा संस्कृति बनिसकेको छ”, मुस्लिम युवा शेष इसराफूल भन्छन् ।

धमौरामा मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिनको विश्रामस्थल रहेको ध्रुवकुण्ड र रौजास्थित इस्लाम धर्मावलम्बीका पवित्र धार्मिकस्थल रौजामजार एक किलोमिटर दूरीभित्रका पवित्र तीर्थस्थल छन् । इस्लाम धर्मावलम्बी गदालीबाबासहित तीन सन्तको रौजामजारमा बर्सेनि हजारौँ संख्याका हिन्दू दर्शन र मन्नत (इच्छित मनोकामना) माग्न तथा भाकल दिन पुग्ने गरेका छन् । धमौराको विकासमा यी दुवै पक्षलाई उजागर गरेर आफ्नो ठाउँको विकास र परिचय बढाउन सकिने कुरामा यहाँ (धमौरा) का हिन्दू, इस्लाम दुवै सहमत देखिन्छन् ।

Comment


Related News

Latest News

Trending News