अपडेट 
२०८० चैत्र ५, सोमबार ०७:५०

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देशको विकास नभइ समस्यामा परेको बताएका छन् ।

बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नहुँदा राजनीतिक स्थिरता कायम नभएको चर्चा गरे । “कुनै दलसँग बहुमत नभएकाले अहिलेको स्थिति आएको छ” उनले भने, “राजनीतिक स्थिरता कायम नभएसम्म यही अवस्था रहिरहन्छ ।” उनले ६–६ महिनामा सरकार फेरिने समस्या दुःखद् रहेको बताए ।

पोखरेलले २०८४ को निर्वाचनमा एमालेलाई एकल बहुमत दिलाउन सहयोग गर्न आग्रह गरे । आगामी निर्वाचनमा एमालेको लक्ष्य एकल बहुमत ल्याउने रहेकाले पार्टीका कार्यकर्तालाई जनतामाझ समस्या सुन्ने र समाधान गर्ने काममा केन्द्रित हुन वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्देशन दिए । उनले एमाले मजबुद भएपछि देशले निकास पाउने दावी गरे । एमाले सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा मधेश प्रदेशमा एमालेको उपस्थिति अझ बलियो हुने दावी गरे ।

कार्यक्रममा एमाले नेतृ तथा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, रक्षामन्त्री हरिप्रसाद उप्रेती, मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्य कल्पनाकुमारी कटुवाल, जिल्ला अध्यक्ष राजनारायण साहलगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा एमाले सर्लाहीको राजनीतिक, साङ्गनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । एमाले सर्लाहीले आसन्न नवौँ जिल्ला अधिवेशनको तयारीस्वरुप आइतबार जिल्लाभरका अगुवा नेता, कार्यकर्ताको उपस्थितिमा प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न गरेको छ ।

Comment


Related News

Latest News

Trending News