अपडेट 
२०८० चैत्र ६, मंगलवार ०७:३८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनले वर्तमान गठबन्धन सरकारका कारण जनतामा व्यापक असन्तुष्टि बढ्दै गएको भन्दै सरकार विरुद्ध आन्दोलनको तयारीमा जुट्न आह्वान गरेका छन् ।

जनकपुरधाममा सोमबार धनुषाका अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष लिंग्देनले राप्रपाले मधेशलाई हेर्ने दृष्टिकोणबारे जनता बीचमा गएर स्पष्टरुपमा आफ्नो भनाइ तथा विचारहरु छलफल तथा विचार विमर्शको माध्यमले प्रचारप्रसार गर्नसमेत निर्देशन दिए ।

उनले अगुवा कार्यकर्तालाई गम्भीरतापूर्वक जनतासंग छलफल बहस गरेर जनभावना बुझ्दै आन्दोलनमा जोड् नुपर्ने बताए । राप्रपाभित्र देखिएको गुटबन्दीप्रति इंगित गर्दै अध्यक्ष लिंग्देनले राप्रपाका अगुवा नेतादेखि कार्यकर्तासम्म एकतावद्ध भई एक अर्कालाई मान, सम्मान र माया गर्ने वातावरणको सृजना गर्नुपर्ने बताए ।

अहिलेको अवस्थामा राप्रपाको आवाज र विचार सुन्नका लागि आमजनता तयार रहेको अवस्थामा आफै भित्रमा एकअर्कामा सद्भाव कायम राखेर पार्टीको विधि प्रक्रियालाई बलियो बनाउनुपर्ने अध्यक्ष लिंग्देनले बताए । आफ्नो हीनताबोध त्यागेर एक चोटी जनताको बीचमा जानका लागि उनले अगुवा कार्यकतालाई आग्रह गरे ।

मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनको नाममा स्थापना गरिएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको नामले दलहरुका केही नेता र आफन्तजनले उपलब्धि हासिल गरे पनि आमजनताका लागि कुनै पनि किसिमले परिवर्तन हुन नसकेपछि जनताले राप्रपालाई विकल्पको रुपमा देखे उनले बताए ।

उनले मुलुकमा व्यवस्था परिवर्तन पछि २० वर्षमा मधेशबाट ५० जनाभन्दा बढी मन्त्री भए पनि मधेशको विकासमा सिन्कासमेत भाँच्न नसक्नु दुःखद रहेको टिप्पणी गरे । अध्यक्ष लिंग्देनले भने, ‘प्रधानमन्त्री बाहेक सबै पदमा मधेशी समुदाय पुगिसक्दा पनि मधेशको अवस्था झनै खस्किदो छ । विगतका कलकारखनाहरुसमेत ठप्प छ, लथालिंग अवस्थामा छ, नयाँ कलकारखाना उद्योगलगायतका स्थापना गरी युवालाई रोजगारको वातावरण सृजना समेत गर्न नसक्ने सरकारले कस्तो खालको व्यवस्था खोजेको छ भन्ने अब जनताले प्रश्न गर्न थालिसकेको छ ।’

उनले यही चैत २७ गते काठमाण्डुमा हुन लागेको आमसभाको तयारीमा सक्रियातापूर्वक आमजनतालाई सहभागी हुन आग्रह गरे । अध्यक्ष लिंग्देनको नेतृत्वमा भइरहेको तराइ मधेशस्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामांग, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरूसमेत मधेश दौडाहामा छन् ।

सरकार समक्ष राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बुँदे माग पत्र पेस गरेर आन्दोलनमा होमिएको राप्रपाले यही चैत २७ गते काठमाण्डु केन्द्रित जनप्रदर्शनका लागि मधेश दौडाहामा छन् ।

आफ्ना मागहरूबारे जनतालाई जागरूक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरू मधेश यात्रामा छन् ।

चैत ५ गतेदेखि ८ गतेसम्म तराई मधेशका ८ वटै जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गर्ने छ । यता, राप्रपाले सर्लाहीको बरहथवामा भएको आमसभामा आयोजना गरेको थियो ।

Comment


Related News

Latest News

Trending News