अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिपुर नगरपालिकाकी पूर्व उप-प्रमुख रेणुकादेवी काफ्ले सहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसहित, इन्जिनियर रंजित साह र सव-इन्जिनियर सञ्जीव चौधरी, सदस्य वेदकुमारी बलम्पाकी र सदस्य लक्ष्मी कुमर, वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष कुमार लामा, उपभोक्ता समितिका पदाधिकारीहरू शम्शेरबहादुर बस्नेत, इन्द्रबहादुर घिसिङ्ग र निर्मलाकुमारी देवीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
लखनदेही खोलामा तटबन्ध निर्माणको काम नै नगरी नगरपालिका कार्यालयबाट भुक्तानी गरिएको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा उनिहरु विरुद्द मुद्दा दायर भएकाे हाे ।
आर्थिक वर्ष २०७५/०७६ मा लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणमा उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा अनियमितता भएको आयोगको दाबी छ । ४८१२.५० वर्ग मिटरको ग्याबिन बक्सको प्रयोग गर्ने लागत अनुमान तोकिएकोमा ३४९५.१५ वर्ग मिटरको परिमाणमा निर्माण गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै लागत अनुमानमा ८,४०० घन मिटरको माटो पुर्ने काम तोकिएकोमा सो भन्दा बढी गरी १४,७०० घनमिटरको परिमाणमा भएको पाइएको आयोगको दाबी छ । ढुंगाको कामको परिमाण कम गरी माटो पुर्ने कामको परिमाण बढाउँदा तटबन्ध कमसल हुन पुगेको आयोगले जनाएको छ ।