अपडेट 
२०८० चैत्र ९, शुक्रबार ०७:१५

नेकपा एमालेका सचिव समेत रहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान पाँच दलीय गठबन्धनले संसद् को बाँकी अवधिसम्म निर्वाध रुपमा चल्ने बताएका छन् ।

देश विकासलाई प्राथमिकतामा राखेर नै गठबन्धन भएको उनले बताए । दोस्रो पटक उपप्रधानमन्त्री बनेका महासेठ पहिलो पटक बिहीवार गृहनगर जनकपुरधाममा आइपुग्दा उनलाई विमानस्थलमा कार्यकर्ताहरुले स्वागत गरेका थिए । उपप्रधानमन्त्री महासेठले विमानस्थलमा सञ्चारकर्मीहरुसितको संक्षिप्त संवादमा भने–‘प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने छ ।’ नेकपा एमालेले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको उनले बताए ।‘ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्न दिनुभएको निर्देशन अनुसार कटिबद्ध भएर म लागेको छु ।’ “भौतिक पूर्वाधारको विकासबिना देश समृद्धितर्फ जानसक्दैन ’ नेता महासेठले भने,–‘त्यसैले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विषयहरूमा काम गर्नु हो ।’ ‘हुलाकी सडकदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति र अन्य मार्ग, पुलपुलेसा तथा सडक समयमै बनाउन हामी लाग्छौं’ उनले भने–‘पूर्वाधारको काम धेरै अधुरा रहेको र कति जिर्ण भइसकेकाले सरकारको प्राथमिकतामा रहेको छ ।’

आफ्नो गृह जिल्ला धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । भौतिक पूर्वाधार मन्त्री महासेठले सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेकाले देशैभरि काम जनताले देखिनेगरि हुने बताए । एमाले—कांग्रेसबीच सहकार्यका विषयमा उनले भने,–‘वर्तमान सरकारले बाँकी अवधिसम्म सहकार्य गर्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग पनि सहकार्यको भावनाका साथ अगाडि बढ्ने छ ।’ यो सरकार बाँकी अवधिसम्म चल्छ ’ नेता महासेठले भने–‘प्रमुख प्रतिपक्षी भन्नुको अर्थ कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ समेत भएकाले उसँग प्रतिपक्षमा होस् वा सरकारमा जहाँ भए पनि सहकार्य त हुन्छ नै, जो अहिले भइरहेको छ ।’ ‘गृहमन्त्री रवि लामिछानेका विषयमा कांग्रेसले उठाएको प्रश्न आफ्नो कित्तामा नउभिएपछिको आक्रोश हो’ उनले भने, यो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कोही पनि सरकारमा बस्न सक्दैनन् ।

मधेश सरकारसहित सातवटै प्रदेश सरकार पुनःगठनका विषयमा गठबन्धन दलबीच छलफल चलिरहेकाले चाँडै निष्कर्षमा पुग्ने उनले बताए । ‘प्रदेश सरकारको विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेकै अवस्था छ ’ उनले भने–‘नेताहरुले निर्णय गरे अनुसार नै प्रदेश सरकारको नेतृत्व बाँडफाँट हुनेछ ।’ गठबन्धन दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भइसकेकाले त्यस संकल्पलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । विमानस्थलमा उनलाई स्वागत गर्नका लागि भारी संख्यामा नेता, कार्यकर्ताहरु पुगेका थिए ।३ क्विन्टलको माला समेत, सगुनको प्रतीक माछाको भार समेत लगिएको थियो ।

Comment


Related News

Latest News

Trending News