अपडेट 
२०८० चैत्र ११, आईतवार ०६:२२

मधेश प्रदेश सरकार शनिवार पुनर्गठन भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले सरकारमा एमालेबाट तीन जना मन्त्री र एकजना राज्यमन्त्रीलाई थप गरेका छन् ।

पुनर्गठन भएको मन्त्रिपरिषद्मा एमालेका सभासदहरु राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्री, सत्रुधन सिंह कोइरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रमोद कुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी पाएका छन् । थपिएका तीनै जना मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सपथग्रहण गराएकी छन् ।

सपथग्रहण समारोहमा मुख्यमन्त्री सरोज कुमार यादव र सभामुख रामचन्द्र मण्डल पनि उपस्थित थिए । एमालेको कोटाबाट केशव राय राज्यमन्त्रीको सपथ लिएका छन् । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

एमालेको कोटामा परेका भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संसदीय दलका नेता सरोज यादवले सम्हालेका थिए । मन्त्रिपरिषद् पुनर्गठन भएसँगै यादव भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा नै सपथग्रहण गरेका थिए । शिक्षा तथा संस्कृति मन्त्री बनेका प्रमोद जयसवाल पर्सा जिल्लाबाट स्वतन्त्र रुपमा निर्वाचित भएका छन् । उनी औपचारिक रुपमा एमालेमा प्रवेश नगर्दै मन्त्री बनेका छन् । एमालेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट उनी माला टिका लगाएर पार्टीमा प्रवेश गर्ने बताएका छन् ।

जनता समाजवादी पार्टी(जसपा) निकट रहेका जयसवालले मन्त्री पद नपाएपछि एमालेबाट मन्त्री बनेका छन् । एमालेमा जयसवालको प्रवेशसँगै प्रदेश सभामा सभासदको संख्या २५ पुगेको छ । आकस्मिक रुपमा मन्त्रिपरिषद्को पुनर्गठन गरिएको बताइएको छ । एमालेमा संसदीय दलका नेता समेत रहेका सरोज कुमार यादवविरुद्ध षडयन्त्र सुरु भए लगतै आकस्मिक रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । यादवविरुद्ध प्रदेश सभाका १४ जना सभासद काठमाण्डु पुगेर पार्टी अध्यक्ष ओली समक्ष दलको नेताबाट हटाउन माग गर्ने तयारी गरेको स्रोतहरुले जनाएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गरी यादवले आफ्नो पक्षलाई सशक्त बनाएको बताइएको छ । अब दलको नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री यादवसित सम्मानजनक बहुमत पुगेको दावी गरिएको छ । मन्त्रीहरुको सपथग्रहणमा सभासद हरिनारायण महतो, एमालेका केन्द्रीय सदस्य युवा नेता सञ्जीव झा ‘सुरज’, जिल्ला अध्यक्ष राजकिशोर यादव, सचिव लक्ष्मीनारायण यादव लगायतका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

एमालेका सचिव समेत रहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ जनकपुरधाममा आयोजित बिभिन्न कार्यक्रमहरुमा सकृय रहेका बेला मन्त्रीहरुले सपथग्रहण गरिरहेका थिए । सपथग्रहण समारोहमा उपप्रम निकटका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थिएन् । उपप्रधानमन्त्री महासेठ शनिवार नै राजधानी फर्केका छन् ।

मधेश प्रदेशमा एमाले भित्रको विवाद चुलिएको छ । नेता महासेठले शारदा थापाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउन चाहेको स्रोतहरुले जनाएका छन् । स्रोतहरुका अनुसा सरकारमा धनुषाबाट लखन दास, सप्तरीबाट लेखी र सिरहाबाट कोइरीलाई सरकारमा पठाएर सन्तुलन मिलाउने नेता महासेठको तयारी रहेको स्रोतहरुले जनाएका छन् । त्यस मध्ये लेखी र कोइरी प्रदेश सरकारमा मन्त्री बनेका छन् । यादव, लेखी र कोइरी सरकारमा दोहरिएका छन् । यस अघि लेखी स्वास्थ्य तथा जनसंख्या र कोइरी गृह, सञ्चार तथा कानुन मन्त्री रहेका थिए । यादव भौतिक पूर्वाधार विकास मन्त्रालयकै जिम्मेवारी पाएका छन् ।

सरकारबाट कांग्रेस बाहिरिएपछि रिक्त भएका मन्त्रालयहरुका अतिरिक्त शिक्षा तथा संस्कृति मन्त्रालय पनि एमालेले पाएको छ । सरकार गठनको बेला एमालेलाई तीन मन्त्रालय दिएको थियो । मधेश प्रदेशमा मुख्यमन्त्री यादवसँग अब श्रम तथा यातायात मन्त्रालय मात्र बाँकी रहेको छ । त्यो मन्त्रालय माओवादीले लिने संभावना रहेको छ । तर माओवादीबाट सरकारमा सुनिता यादव पर्यटन, उद्योग तथा वाणिज्य मन्त्री रहेकी छन् ।अर्को मन्त्रीको विषयमा पार्टीले निर्णय गरिसकेको छैन् ।संसदीय दलका नेता भरत साह सरकारमा जान इच्छुक रहे पनि शीर्ष नेताले सहमति जनाइसकेका छैनन् ।

Comment


Related News

Latest News

Trending News