अपडेट 
२०८० चैत्र ११, आईतवार ०६:३९

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या थप्न सकिने बताएका छन् ।

जनकपुरधाम–जयनगर रेल्वे अनुगमन एवम् निरीक्षणका क्रममा शनिबार उनले सो कुरा बताएका छन् । मन्त्री महासेठले यात्रीको चाप बढी भएको कुरा आइरहेको भन्दै यात्रुहरूलाई मध्यनजर गरी रेल आवतजावत गर्ने समय थप्न सकिने बताए । उनले भारत सरकारको माध्यमबाट निर्माणको जिम्मा लिएका कम्पनीहरूसँग पनि कुरा गरेको उल्लेख गर्दै अब छिटो र छरितो रूपमा सेवा अघि बढाउने प्रतिबद्धता जनाए ।

‘‘अहिले नेपाल सरकारले सेवाको भावनाबाट यो सञ्चालन गरेको छ । अब केही दिनपछि हामी अगाडि बढाउँछौँ । सधैँ घाटा लगाएर चलाउन गाह्रो हुन्छ । त्यसमा नेपाल सरकार खासगरी भौतिक पूर्वाधार मन्त्रालयले, रेल्वे विभागले त्यसबारेमा सबैको राय लिएर के गर्दा राम्रो हुन्छ, त्यो बाटो हामीले अपनाउनेछौँ ।,’’ उनले भने, ‘‘ यात्रीको चाप बढी भयो भन्ने छ, त्यो धेरै ठुलो समस्या होइन । यो रेलको समय थपेर धेरै पटक आवतजावत हेरेर बढाउनेछौँ । रेल पनि थप्नेछौँ, यदि यात्रुको चाप बढी भयो भने । यात्रुको चाप हेरेर केके सुविधा दिनुपर्छ, त्यो हामी गर्नेछौँ । सकभर यही आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध हुनेछ । मालवाहकको लागि प्रक्रिया अघि बढाइसकेको छ ।’’ मन्त्री महासेठले रेलसेवासँग सम्बन्धित आन्तरिक कमी कमजोरीहरूको सम्बोधन गर्ने बताए । उनले चालु आर्थिक मसान्तभित्र खानेपानी र शौचालयहरूको व्यवस्थाको प्रबन्ध गर्ने बताए । मन्त्री महासेठले भने, ‘‘ भारत सरकारले, खासगरी भारत सरकारको माध्यमबाट निर्माण लिएका कम्पनीहरूसँग पनि कुरा गरेका छौँ । अरू सबै ठिक छन्, केही समस्या छन्, केही अतिक्रमण भएका छन् । त्यो अतिक्रमण हटाउनलाई हाम्रो नेपाल सरकारसँग करा गर्छौं, नेपाल सरकारले भारत सरकारसँग कुरा गर्नेछ । स्थानीय तहमा जयनगरतिरका कुरामा त सरकारसरकारबिच कुराकानी हुन्छ, रेल्वे विभागका जिएम लगायतको यसलाई हटाउन, पहल गर्नुपर्नेछ । त्यसमा मैले निर्देशन दिइसकेको छु । हाम्रा आन्तरिक कमी कमजोरी छन् भने त्यसलाई छलफलबाट समाधान गर्नेछौँ । आम्दानी कम भयो, खर्च बढी भयो, त्यो स्वाभाविक छ ।’’ मन्त्री महासेठले शनिबार जनकपुरधामदेखि जयनगरसम्म रेलमा यात्रा गरेरै अनुगमन एवम् निरीक्षण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News