अपडेट 
२०८० चैत्र १२, सोमबार ०६:००

मिथिलाको प्रसिद्ध १५ दिने माध्यमिकी परिक्रमा आइतवार जनकपुरधाम आइपुगेको छ । परिक्रमाका सहभागीहरु बिहानैदेखि आउन थालेपछि भित्री बजारका सडकहरुमा मानिसको भीड लागेको छ ।

मिथिलाको माध्यमिकी परिक्रमा धनुषा जिल्लाको कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट प्रारम्भ हुन्छ । मिथिला बिहारीको डोला पहिलो दिन जनकपुरधामको हनुमानगढीमा विश्राम गर्छन् । तर औपचारिक रुपमा परिक्रमा प्रारम्भ स्थल भारतको बिहार राज्यको कल्याणेश्वर स्थान मन्दिरबाट हुने गर्छ ।

१५ दिन सम्म परिक्रमा गर्ने यात्रुहरुका अतिरिक्त आइतवार भारी संख्यामा श्रद्धालुहरु अन्तगृह परिक्रमाका लागि आएका छन् । उनीहरु सोमवार बिहान पवित्र गंगासागर, धनुषसागर लगायतका जलासयहरुमा स्नान गरी जनकपुरधामको अन्तगृह परिक्रमापञ्चकोशी परिक्रमा)गरेपछि परिक्रमाको यात्रालाई पूरा गर्छन् ।

परिक्रमाका सहभागीहरुले भारतको चार स्थान र नेपालको एघार स्थान गरी कुल १५ स्थानमा बास बस्ने गर्छन् । परिक्रमामा मिथिला बिहारी भगवानको डोला र सुन्दर सदनको डोला प्रमुख रुपमा हुन्छ । अन्य मठमन्दिरका डोलाहरु पनि परिक्रमा गर्छन् । परिक्रमाका सहभागीहरु हरेक वासामा रात्री विश्राम गर्छन् ।

विश्रामस्थलहरु धार्मिक र सांस्कृतिक महत्वसित जोडिएका छन् । दिनभरि यात्रा गर्ने र साँझ अगावै भोजन गर्ने परिक्रमावासीहरुले नांगो खुट्टा हिड्ने गर्छन् । परिक्रमा सडक र त्यससित जोडिएका विश्रामस्थल, बस्तीहरुको विकासका लागि गुरुयोजना बनाइए पनि त्यस अनुकुल काम हुन सकेको छैन् ।

परिक्रमाका सहभागीहरुको विश्रामस्थलमा समेत पिउने पानी, बसोबास र शौचालयको समुचित प्रबन्ध नहुँदा यात्रा कष्टकर हुने गरेको सहभागीहरुको दुखेसो छ । नेपाल र भारतको सम्बन्धलाई सुदृढ बनाउने धार्मिक एवं सांस्कृतिक महत्वका बिभिन्न महोत्सवहरु मध्ये परिक्रमा पनि एक प्रकारको महोत्सव नै रहेको सन्त राम प्रवेश दासले बताए ।‘दुई देशबीचको सम्बन्धलाई जीवन्त राख्न परिक्रमाको पनि महत्वपूर्ण स्थान छ ’ उनले भने–‘परिक्रमा मार्गलाई सहज बनाउन नेपाल र भारत सरकारले संयुक्त रुपमा ध्यान दिन आवश्यक छ ।

कतिपय वासा जोड्ने सडक नहुँदा परिक्रमाको डोलासँगै सहभागीहरु खेतबाट जाने गर्छन् । थोरै वर्षा हुँदा सहभागीहरुको यात्रा नै कष्टकर हुने गरेको दासले बताए । नेपालको एघार स्थानको भन्दा भारतको चार स्थानको जोड्ने मार्ग खराब रहेको सहभागीहरु बताउँछन् । परिक्रमा पथलाई नांगो खुट्टा सहज रुपमा हिड्न सक्ने बनाउन उनीहरुको माग छ ।

१५ दिने परिक्रमा प्रारम्भ गरेपछि कम्तीमा पाँच वर्ष गर्नुपर्ने मान्यता रहेको छ । परिक्रमामा साना मठमन्दिरका सन्तमहन्त र मध्यवर्गीय परिवारका सदस्यहरुको सहभागिता बढी देखिन्छ । अनेकौ भगवानको परिक्रमा एकसाथ हुने मान्यता रहेको छ । मिथिला महात्म्यका अनुसार विगतमा मिथिलाको बृहत्त परिक्रमा गरिन्थ्यो । त्यसमा लामो समय लाग्ने गथ्र्यो । त्यसकारण परिक्रममा साधु सन्त बाहेकका श्रद्धालुहरुको सहभागिता हुँदैन्थ्यो ।

त्यसपछि सिद्ध मौनी बाबाले हालको मिथिला माध्यमिकी परिक्रमाको प्रारम्भ गरेको हिन्दू सम्बन्धी बिभिन्न पुस्तकहरुमा उल्लेख छ । मिथिला परिक्रमाको महत्वबारे सबै ग्रन्थमा समान धारणा रहेको देखिन्छ । धार्मिक, सांस्कृतिक महत्वले परिक्रमा गरिए पनि त्यसको वैज्ञानिक महत्व पनि रहेको बताइन्छ । नांगो खुट्टा हिड्ने, एकछाक मात्र चोखो खाने र खुल्ला चौरमा सुत्नाले स्वास्थ्यका लागि अनेक प्रकारले फाइदा दायक मानिन्छ ।

परिक्रमा १५ दिने रहे पनि अब २४ घण्टा र पाँच दिनमा पनि गर्न थालिएको छ । तर उनीहरु पनि जनकपुरधाममा १५ दिने परिक्रमावासीहरुसँगै प्रवेश गर्छन् । मोटरसाइकलले परिक्रमा गर्ने युवा, राजनीतिकर्मीहरुको सहभागिता पनि बढन थालेको छ । मोटरसाइकलबाट परिक्रमा गर्नेमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह पनि रहेका थिए ।

मिथिलाको मान्यता अनुसार अन्तगृह परिक्रमाको भोलिपल्ट होली मनाइनेछ । अन्तगृह परिक्रमा गरी श्रद्धालुहरु घर फर्केपछि होली खेल्ने मिथिलामा चलन रहीआएको छ । सोमवार अन्तगृह परिक्रमा भएपछि मंगलवार नै होली हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।‘पर्व, त्यौहार खानपिनको आधारमा नभै मान्यता र परम्पराको आधारमा चल्छ’ उनले भने, मंगलवार नै मिथिलामा होली सम्पन्न हुनेछ । जनकपुरधाम उपमहानगरका मेयर साहले पनि मंगलवार होली मनाइने बताएका छन् ।‘ संघीय सरकार र प्रदेश सरकारले पनि सोमवार र मंगलवारको विदा दिएको छ’ उनले भने, खानपिनलाई प्राथमिकता दिएर परम्परागत सांस्कृतिक, धार्मिक मान्यतामा खलल पु¥याउन हुँदैन् । परिक्रमाका सहभागीहरुलाई निःशुल्क भोजन गराउन बिभिन्न संघसंस्थाहरु सकृय रहेका छन् ।

परिक्रमा क्षेत्र भित्र बिभिन्न स्थानहरुमा बिभिन्न संघसंस्थाहरुले निशूल्क भोजनको प्रबन्ध गरेका छन् । परिक्रमाका सहभागीहरुलाई सहजताका लागि चिया, सर्वत, पानी, खाजाको पनि प्रबन्ध संघसंस्थाहरुले गरेका छन् । सडक छेउमा माग्नेहरुको भीड परिक्रमा सडकभरि नै लागेको छ । उनीहरु नेपाल र भारतको बिभिन्न स्थानहरुबाट परिक्रमाको बेला यहाँ आउने गर्छन् ।

Comment


Related News

Latest News

Trending News