अपडेट 
२०८० चैत्र १२, सोमबार ०६:०६

मधेशमा दिनदिनै होली पर्वको रौनक छ । आइतबारबाट सुरु भएको होली मङ्लबारसम्म खेल्ने तयारी मधेशमा छ । प्रदेशका आठवटै जिल्लाका उत्तरवत्र्ती क्षेत्रमा सघन बसोबास भएका पहाडी मूलका हिन्दू सोमबार पनि फागुपर्व मनाएका छन् ।

पूर्णिमा तिथिकै दिन फागु मनाइने परम्पराअनुसार पहाडी मूलका हिन्दूले सोमबार फागुवा मनाएका छन् । यता साधु परम्परा (मठ, गुरुकुल परम्परा)मा पूर्णिमा सकिएर लाग्ने प्रतिपदा तिथिमा फागु खेल्ने परम्परा छ । यसअनुसार मधेशका अधिकांश ठाउँमा सोमबार होली पर्व मनाइने तयारी छ ।

मिथिलाको माध्यमिकी परिक्रमा क्षेत्रभित्र अन्तगृह परिक्रमा सम्पन्न गरिएपछि त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ । यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मङ्गलबार होली खेलिनेछ । पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको रङ्गभूमिमा अन्तिम बास बसेर १६औँ दिन बिहान अन्तगृह परिक्रमा गरिन्छ ।

अन्तगृह परिक्रमाकै क्रममा होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होली मनाइने परम्पराअनुसार मङ्गलबार पर्व मनाउनपर्ने स्थापित मैथिल परम्परा भएको यसक्षेत्रको पाका मैथिल बताउँछन् ।

फागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा पर्सी मङ्गलबार पर्व मनाइनेको संख्या उल्लेख्य देखिन्छ ।

खासमा १५ दिने मिथिला माध्यमिकी यात्राको एक सय ३३ किमी वृत्तभित्र मङ्गलबार पर्व मनाइने मैथिल संस्कृति र परम्पराका जानकार वरिष्ठ साहित्यकार परमेश्वर कापडि बताउँछन् । “मध्यमा परिक्रमा जनकपुरधामको रङ्गभूमि मैदानमा जम्मा भएकै दिन राति होलिका दहन गर्ने, भोलिपल्ट अन्तगृह परिक्रमासँगै धुरा उडाउने र त्यसको भोलिपल्ट पर्व मनाउने परम्परा छ”, कापडि भन्छन्, “यसमा सामान्यतया तिथिको कुरा त जोडिन्छ, तर कहिलेकाहीँ तिथिको भोग घटबढको असरले तलमाथि पर्छ ।”

मिथिलामा सामान्यतया चैतकृष्ण प्रतिपदाका दिन होली पर्व पर्ने भए पनि होलिका दहन र अन्तगृह परिक्रमा एक दिनको फरकमा हुने परम्पराले यसपालीको पर्व मङ्गलबार पुगेको कापडि बताउँछन् । यहाँ पहाडे र मूल मधेशी समुदायको अन्तर्घुलनले सबै परम्पराअनुसार एकअर्काको होली परम्परामा सरिक हुँदै आएका छन् । “प्रेम, सद्भाव र आपसी एकताको सन्देश दिने पर्वको अभीष्ट हो, हामी तीनै दिन एकआपसमा मिलेर होली खेल्छौँ”, नगराइन नगरपालिकाका मेयर विनय यादवले भने ।

आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन ‘होरी’ मनाइँदै गरिए पनि यसपाली होली शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होली शान्त देखिएको छ । मधेश प्रदेशभित्रका आठै जिल्लामा जिल्ला प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ ।

Comment


Related News

Latest News

Trending News