दैहिक , लौकिक , उत्साह , उल्लास र मस्ती , संगीतमय , सरस र रमाइलोको पर्व होली विशिष्ट प्राचीन पर्व हो जसले सांस्कृतिक अनेकतामा एकता कायम राख्ने प्रेरणा दिंदै आएको छ । प्राचीनकालदेखि नै सबै समुदायलाई निकट ल्याउने पर्व रहँदै आएकाले पर्वको मुख्य तत्व रङ रहेको छ ।
प्रह्लाद ,कृष्ण ,राम , शिवका कथा प्रसङ्ग यस पर्वको धार्मिक आधार रहे तापनि यसको महत्व प्राकृतिक वातावरणसँगै मानिसको उल्लाससँग गाँसिएको छ । प्राचीन कालमा वसन्तोत्सव , काम महोत्सव आदि नामले चर्चित यो पर्व यतिबेला , फगुवा , फागु ,होरी र होलीका नामले विख्यात छ । यस मौसममा बगैंचाको फूलको आकर्षण रुखविरुवाको नयाँ मञ्जरीले मानिस , पशुपन्छी सर्बतिर परिपूर्ण एवम् उल्लासमय वातावरण बनाउने भएकाले यसलाई मित्रताको पर्वको सङ्ज्ञा पनि दिइएको छ ।
सबै प्रकारका भेभावलाई भस्म ( होलिका दहन ) गरी परस्परमा रङ हाल्दै सबैलाई उल्लासको रङगीचङगी यसको धरातलीय पक्ष रहेको छ । फागुनमा मनाउने पर्व भएकाले यसलाई फाल्गुणी पनि भनिन्छ भने संस्कृत कोशअनुसार यसलाई होली भन्ने गरिन्छ । पौराणिक कथनअनुसार यस पवृको आरम्भ रघु राजाबाट भएको हो ।
प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी यज्ञभस्म शिरमा लगाइ मनाइने गरेकाले केही विद्वानले यस पर्वलाई वैदिककालीन पर्व पनि भन्ने गरेको पाइन्छ । प्राचीनकालमा यसलाई होलाका भनिन्थ्यो । प्राचीन ग्रन्थका श्लोक र मन्त्रहरुमा यो पर्व सबैले मनाउनुपर्छ भन्ने कुराको उल्लेख पाइन्छ । जैमिनी ,शबर ,वात्सायन आदिद्वारा रचित ग्रन्थ भविष्यपुराण , लिङ् गपुराण , वराहपुराण , हिमाद्रि आदिमा पनि होलीको उल्लेख छ । प्रकृतिको सुन्दरतामा मनुष्यलाई प्रशन्न गरी उसका सबै घाउलाई भर्न सक्ने क्षमता छ ।
अतः मानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने हुँदा प्रकृतिको पर्व मनाउनलाई पाश्चात्य देशमा एउटी सुन्दरी बालिकालाई रानीको सङ्ज्ञा दिइ वसन्त पर्व मनाउने चलन पनि पाइन्छ । प्राचीनकालमा वसन्तोत्सवका रुपमा मनाइने यो पर्व कालान्तरमा प्रह्लाद , कृष्ण , होलिका , ढण्डा आदिको कथा माध्यमले फागु , फगुवा , होलीका नामबाट पुकार्न थालिएको अनुमान गरिन्छ ।
यस पर्वलायृ असत्यमाथि सत्य , छलमाथि निश्छलताको , अधर्ममाथि धर्मको विजयको प्रतीक पनि मानिन्छ । फागुन महिनाको पूर्णिमाका दिन होलिका दहन गरिन्छ । अर्को दिन बिहाने उठेर होलित्सव मनाइन्छ ।होलिका वसन्त आरम्भको बेलाका एक लोकप्रिय पर्व हो । फागुलाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ ।
मिथिलाञ्चलमा यो पर्व अत्यन्त लोकप्रिय मानिन्छ । वराहपुराणमा फागुन पूर्णिमालाई पटवास विनाशनी भनिएको छ । पटवास भनेको अबीर जस्तो चूर्णलाई भनिन्छ । होली पर्व बाल स्वास्थ्य तथा नारी सौभाग्यसित पनि सम्बन्धित छ । सत्य तथा ज्ञानको प्रतीक प्रह्लाद र विज्ञान तथा भौतिकतावादी हिरण्यकश्यपुको कथासँग यो पर्वलाई आध्यात्मवाद र भाौतिकवादको द्वन्द्वका रुपमा पनि लिइन्छ ।
कृष्णले आफूलाई दुघ पिलाउने पुतना राक्षसीको वध गरेपछि गोप गोपिनीले रासलीलाका साथ रङ खेलेर उत्सव मनाएको तथ्य पनि पाइन्छ । ब्रह्माले सृष्टिको शुभारम्भ पनि फागु पर्व मनाउने वसन्त ऋतुमा नै गरेको चेत्रेमासे जगत् ब्रह्म ससर्जप्रथमे हनि श्लोकबाट प्रमाणित हुन्छ । भगवान विष्णुले सत्ययुगमा यसैदिन मत्स्यावतार धारण गरेको शास्त्रहरुमा उल्लेख छ ।
प्रतापी राजा रघुको राज्यमा अमनचैन सुखशान्ति हुँदाहुँदै त्यहाँ ढुण्ढी नामकी राक्षसीले बालबालिकाको अपहरण गरी दुःख दिएको हुँदा चिन्तित राजाले राक्षसीलाई निकाल्ने प्रयास गरे पनि सफल नभएपछि वशिष्ठ ऋषिसँग अत्याचारबाट मुक्त हुने सुझाव लिइ अग्निकुण्ड बनाइ प्रचण्ड अग्नि जलाइ सो रापले नभेट्ने ठाउँमा बालबच्चा र ठूलाको उल्लासपूर्ण भेला गराइ अश्लील गालीगलौज गर्दे लखेट्दै गर्दा राक्षसी थकाइले मर्दा उनको शरीर जलाइ खरानी उडाइ टीका लगाइएको तथ्य पनि पाइन्छ ।
नराम्रो प्रवृत्ति उन्मूलनको खुशियालीमा वर्ष दिनमा एक पटक फागु पूर्णिमा तिथिमा अबरि आदि रङ र फूलका रस खेल्दै परस्परमा मनोरञ्जन गर्ने होली उत्सव मनाएको विश्वाससमेत रहेको छ । कुनै कालखण्डको फागुन तिथिमा महादेवले कामदेवलाई नाश गरेको खुशियाली सन्दर्भमा यो पर्वको विशेषता र शुरुआत भएको मानिन्छ ।
मदन र कामदेवको भावलाई पूर्वीय र पाश्चात्य विद्वान वात्स्यायन र फ्रायडका विचारमा एकरुपता भएको पुष्टि विश्वप्रसिद्ध छ ।दुबैको निष्कर्षमा रङ र पानीबाहेक यो पर्वलाई रति र कामको पूजन पर्व मदनोत्सव भनिएको पाइन्छ । श्रीमद्भागवत पुराणमा पुतना राक्षसीले बच्चाबच्चीलाई दुध चुसाउने निहुँमा दुःख दिएको , मारेको र कृष्णलाई समेत त्यसै गर्न लाग्दा कृष्णले पुतनालाई नै मारिदिएको र नगरवासीले राक्षसीको लाश जलाएको खरानीले ने होली खेलेको कथा पनि पाइन्छ ।
हिमालमा शिव पार्वतीले फागु उत्सव मनाएका, लङ्का युद्धमा रावणसँग विजयपछि अयोध्यावासीसँग राजा रामले खुशियालीका रपमा फागु खेलेका कथा आदिले असत्यमा सत्यको , अधर्ममा धर्मको, कुकर्ममा सुकर्मको जितको परिणाम उल्लेख छ । होली पर्वको मूल प्रकृति हास , परिहास , सरलता , सद्भाव भएकाले कसैको चित्त दुखाउने अभिव्यक्ति आउनुहुँदैन ।
हास्यात्मक कुरा ,मजा लिने कुरासम्म गर्न मिल्छ तर अचेल सीमा नाघेर पनि आक्षेपात्मक कुरा महामूर्ख सम्मेलन वा उपाधि दिइँदा आउन थालेको देखिन्छ । यस पर्वको दुइटा मुख्य पाटो छ– एक रसरङ ,नाचगान , खानपिन , मनोरञ्जन । आफ्नो रङमा अरलाई रङने ढोल , मजीरा , झाल ,मृदङ्ग बजाउँदै वातावरण र रसमय बनाउने ।
दोस्रो मनोमालिन्य , भेदभाव त्याग्दै भ्रातृत्व भावना बढाउने । त्यस कारण यसलाई होच्याउने , चित्त दुखाउने मनसाय नराखी सांस्कृतिक एकता भाव हुनु जरुरी छ । खास गरी पर्वका नाममा युवा शिक्षार्थीमा अनावशयक दुःख दिने ,बलजफ्ती गर्ने प्रवृत्ति बढ्दै गएका कारण पुरानो उत्साहमा निकै कमी आएको छ । होली पर्वमा विशेष गरी रातो ,हरियो , पहेंलो र निलो रङको प्रयोग हुने गरे तापनि आजभोलि अरु रङको प्रयोग पनि भएको देखिन्छ । यी रङ हिन्दूलगायत अन्य धर्मका धार्मिक सूचकका रुपमा प्रयोग हुने गरेको छ ।
रङलाई उत्साह , उमंग , प्रसन्नता र सद्भावको प्रतीक मानिन्छ । रङ अनेक छन् । इन्द्रेनीका सातै रंग सबैभन्दा महत्वपूर्ण रहेका छन् । सूर्यलाई रङको मुहान मानिन्छ । रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ त्यसैले विशेषतः देवीले रातो रङको पहिरन लगाएको देखाउने गरिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ ।
सफा , स्वच्छ र चित्त शुद्धिको प्रतीक रातो रङलाई साहस र प्रेमको प्रतीक पनि मानिएको छ । हरियो रङलाई प्राण ,जीवनशक्ति एवम् मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रङ पनि भनिन्छ । पहेंलो रङलाई भक्ति र धर्म परायणताका रुपमा लिइन्छ । निलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ ।
त्यसैले नील वर्णका भगवान् विष्णु र शिवले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिंदे आएको मान्यता पनि पाइन्छ । होलीका सन्दर्भमा चलेका पौराणिक कथनहरु भए पनि यसको वास्तविक विषय मानिसको जीवनमा थप उर्जा प्राप्त गर्नुृ हो । सृष्टिको उषाकालदेखि नै ब्रह्माण्डमा रङको अद्वितीय स्थान छ । ग्रहहरुमा सूर्यको रातो , चन्द्रको सेतो , मंगलको रातो , बुधको पहेंलो, वृहस्पतिको पहेंलो , शुक्रको सेतो , शनिको कालो ,राहुको कालो र केतुको ध्वाँसे रङ रहेको छ ।
रङप्रेमी भएकै कारण रङ न ढङको कुरालाई मन पराउने गरिएको छैन् । यसरी प्राचीनकालदेखि आजसम्म अविछिन्नरुपमा अनेक रुपरङ फेर्दे सृष्टिमा सौन्दर्य छर्दे समानताको , एकताको पाठ सिकाउँदै आएको छ । वैमनस्य हराउने , जातपात, छुवाछुत ,भेदभाव टुटने , सस्ता ,हलुका गीतसँगै गम्भीर गीत गुञ्जमानका साथ प्रगति , स्फूर्ति तथा नयाँ सौन्दर्य प्रदान गर्न राम खेले होरी , लक्षुमन खेले होरी , रामजीके हाथमे कनक पिचकारी , सियाजीके हाथ अबीर झोरी जस्ता होरी गीतले यसको विराटता , अनेकतामा एकतालाई सुदृड राख्नु आवश्यक छ ।