अपडेट 
२०८० चैत्र १६, शुक्रबार ०७:०६

चालु आर्थिक वर्ष ०८०/०८१ को आठ महिनाको अवधिमा ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत राजस्व संकलन भएको बताए । उनले भने, ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आर्थिक वर्षमा राजस्व संकलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ’, उनले अघि थप्दैँ भने, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व संकलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’ भन्सार कार्यालयले सरदर दैनिक ४० करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको छ ।

कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व संकलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताए । यसअन्तर्गत भन्सार महसुल (आयात), मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलासिता शुल्क उठाउँदै आएको छ ।

भन्सार विभागले चालु आर्थिक वर्षमा यस कार्यालयलाई दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार साउनमा ११ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । भदौमा १२ अर्ब ७१ करोड रुपैयाँ , असोजमा १४ अर्ब २७ करोड रुपैयाँ, कार्तिकमा १० अर्ब ३२ करोड रुपैयाँ, मङ्सिरमा १२ अर्ब ८२ करोड रुपैयाँ, पुसमा १२ अर्ब ७४ करोड रुपैयाँ, माघमा ११ अर्ब ८३ करोड रुपैयाँ तथा फागुनमा १३ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७९/०८० को आठ महिनाको अवधिमा एक खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा एक खर्ब एक अर्ब ५३ करोड ८० लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल नेपालका उद्योगधन्दा धरासायी अवस्थाबाट गुज्रिरहेकाले पनि पर्याप्त मात्रामा उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ आयात नहुँदा राजस्व घटेको हुन सक्ने अनुमान गरे ।

प्रमुख भन्सार प्रशासक पन्थीले चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात कम भएकाले भन्सार राजस्व घटेको बताए । आएका सवारीसाधन पनि अधिकांश विद्युतीय सवारीसाधन भएकाले राजस्वमा प्रत्यक्ष असर देखिएको हो’, उनले भने, ‘ कच्चा खानेतेलको आयात ६२ प्रतिशतले गिरावट आएको छ ।

यसका साथै औद्योगिक क्षेत्रमा आवश्यक पर्ने कच्चापदार्थ र सुर्तीजन्य पदार्थको आयात घटेकाले राजस्व संकलनमा प्रत्यक्ष असर देखिएको हो ।’ कार्यालयले आर्थिक वर्ष ०७८÷०७९ मा दुई खर्ब चार अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७९÷०८० मा एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २१ हजार रुपैयाँ संकलन गरेको थियो ।

यस्तै कार्यालयले चालु आर्थिक वर्षका आठ महिनाको अवधिमा भने ९९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्व संकलनमा वीरगञ्ज भन्सार कार्यालय मात्रै होइन, समग्रमा संघीय सरकारले पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० चैत १४ गतेसम्मको दैनिक विश्लेषणअनुसार राजस्व शीर्षकमा लक्ष्यको ४६ दशमलव ३५ प्रतिशत अर्थात् ६ खर्ब ५९ अर्ब ३४ करोड रुपैयाँ संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको पाइएको छ ।

Comment


Related News

Latest News

Trending News