अपडेट 
२०८० चैत्र १७, शनिबार ०८:२३

नेपाली काँग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिले राजनैतिक अन्योल सिर्जना गरेको टिप्पणी गरेका छन् ।

राजविराजमा शुक्रबार नेपाल कायस्थ महासंघको प्रथम राष्ट्रिय महाधिवेशन एवं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पहिले पनि उथलपुथलका कुरा गर्नूहुन्थ्यो, उनले भने “बिहीबार पनि यस्तै कुरा गरेर राजनैतिक अन्योल सिर्जना गर्ने काम भएको छ ।” उथलपुथलका कुराभन्दा पनि जनताको समस्या र देशको विकासका कुरा बढी ध्यान दिनुपर्नेमा उनको जोड थियो । नेपालमा शासन प्रणाली र पात्र फेरिने प्रयोग आवश्यकता भन्दा बढी भइरहेको भन्दै नेता निधिले अब प्रयोग भन्दा पनि जनताको मूल समस्या समाधानमा सबै लाग्नु पर्ने बताए ।

अर्काे प्रसंगमा अल्पसंख्यकको रुपमा रहेतापनि कायस्थ जातिको मुलुकको हरेक क्षेत्रमा योगदान रहेको चर्चा गर्दै नेता निधिले राजनीतिक दलका हिसाबले विभिन्न ठाउँमा विभक्त रहेर पनि जातीय उत्थान र सामाजिक उत्थानका लागि कायस्थ समुदाय एकीकृत भइ अघि बढ्नु पर्ने बताए । उनले जातीय संस्कृतिको जर्गेना सहित समाजिक विकासमा अझ एकताबद्ध भई लाग्न कायश्थ समुदायका अगुवालाई आग्रह समेत गरे । सो अवसरमा उनले नेपाल कायस्थ महासंघको मुख–पत्रको रुपमा प्रकाशन गरिएको “कायस्थ स्मारिका २०८०” को विमोचन समेत गरे । त्यस्तै महासंघको वेबसाइटसमेत उनले शुभारम्भ गरे ।

कार्यक्रममा कायस्थ जातिको उत्थानका लागि योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई प्रमुख नेता निधिले मिथिला पाग, दोसल्ला र कदरपत्रबाट सम्मान गरेका थिए । कार्यक्रममा महासचिव शिवचन्द्र लालले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष सन्तोष किशोर लाभले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल कायस्थ महासंघका अध्यक्ष एवं सर्वाेच्च अदालतका पूर्वन्यायाधीश लोकेन्द्र मल्लिकको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष आनन्दमोहन लाल दास, सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमल नारायण दास, महासंघको काठमाण्डु जिल्ला अध्यक्ष संतोष किशोर लाभ, कायस्थ स्मारिका २०८० का मुख्य सम्पादक राजेश कुमार झा, राजर्षि विश्वविद्यालयका डा.शैलेन्द्र नारायण मल्लिक, डा. गौरीशंकर लाल दासलगायतले पनि शुभकामना दिँदै जातीय उत्थानसंगै कायस्थ समाजको कला, कौशल तथा साँस्कृतिको संरक्षण र संवद्र्धनमा सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

महाधिवेशन एवं वार्षिक साधारणसभामा कायस्थ जातिको जातीय संस्था चित्रगुप्त सेवा समितिका समेत देशभरका प्रतिनिधिहरुको सहभागिता छ ।

Comment


Related News

Latest News

Trending News