अपडेट 
२०८० चैत्र १७, शनिबार ०८:२९

होरी बुधबार सम्पन्न भएको छ । बिहीबारको होरी हैंङओभरलाई समेत जोड्ने हो भने पाँच दिवसीय होरी सम्पन्न भएको भन्दापनि अत्युक्ति न होला । स्थानीय प्रशासनको मुस्तैजीको कारणले भनौ वा आमनागरिक विभिन्न कित्तामा विभाजित भएकाले एकीकृत होरी हुडदंग नभएकोले प्रशासनलाई शान्ति सुरक्षा कायम राख्न सजिलो भयो भन्दा पनि हुन्छ ।

वसन्तऋतुको उत्कर्षमा मनाइने होरी ऋतु उत्सव हो । यस उत्सवलाई सामाजिक सद्भावको रुपमा मनाउने पुरानो व्यवस्था हो । यसमा पनि अन्तःगृह परिक्रमाको भोलि पल्ट होरी मनाउने जनकपुरधामको सयौं वर्ष पुरानो परम्परा यस वर्ष टुटेको छ । यसरी चार दिनसम्म होरी मनाउनेहरुको आ–आफ्नै तर्क छन् । तर आमजनको जिज्ञासा कसैको तर्क वा कुतर्कले शान्त पार्न सकेको अवस्था छैन । सबाल यथावत छ – चार दिनसम्म होरी किन मनाइयो ? सामाजलाई निर्देशित गर्ने कुनै निकाय छ कि छैन ?

मिथिलाञ्चलमा सम्मत (होलिका दहन) भएको भोलि पल्ट फागु खेल्ने चलन छ । नेपाली भाषीहरु फागु पूर्णिमाको दिन फागु खेल्छन् । भारतका जुन क्षेत्रमा होलिका दहन गर्ने परम्परा छ । त्यहाँ फागु पूर्णिमाको भोलि पल्ट र जहाँ छैन, त्यहाँ काठमाण्डु जस्तै फागु पूर्णिमाकै दिन फागु खेल्ने परम्परा छ । तर साधु सन्तहरुको नगरी भनिने जनकपुरधाममा भने थोरै फरक छ, यहाँ अन्तगृह परिक्रमाको भोलि पल्ट फागु खेल्ने परम्परा छ ।

यसैकारणले होला जनकपुरधामकै छेउ छाउको गाउँमा जनकपुरधामभन्दा एक दिनपहिले नै होली खेलिन्छ । तर यस वर्ष सयौं वर्ष पुरानो परम्परा तोडियो । यद्यपि यो पहिलो पटक भने होइन, यस अघि पनि अन्तगृह परिक्रमाको भोलि पल्ट आइतबार र मंगलबार होली नखेलेको नजिरहरु छन् । तर यस्ता गलत नजिरहरु तोड्दै जानु पर्ने थियो । दुर्भाग्य त्यो भएन ।

अन्तगृह परिक्रमा सोमबार सम्पन्न भएको थियो । जनकपुरधामको परम्परा अनुसार मंगलबार नै फागु पर्व मनाउन जानकी मन्दिरका उतराधिकारी महन्त रामरोशन दास, जनकपुरधाम उपमहानगर पालिकाका प्रमुख मनोज कुमार साह र जनकपुरधाम क्षेत्रकी संघीय सांसद जुली महतोले सार्वजनिक अपिल गरेका थिए । तर होली मनाइयो– बुधबार । धार्मिक संस्थादेखि जनप्रतिनिधिसम्मको आग्रहलाई बेवास्ता गर्दै जनकपुरधामवासीले महावीर युवा कमिटीको अपिललाई मान्यता दिए ।

महावीर युवा कमिटीले बुधबार फागु पर्व मनाउन अपिल गरेको थियो । हामीलाई स्मरण नै छ, हजारौं वर्षको इतिहाससंग खेलवाड गर्दै ‘महावीर युवा कमिटी’ले राजदेवी मन्दिरको उत्तरीद्वारमा लेख्न लगायो– ‘राजा जनककी कूलदेवी’ । त्यतिबेला न जानकी मन्दिरका महन्तजीको प्रतिकृया आयो न त जनप्रतिनिधिहरुले नै चुई बोल्नु भयो । वर्तमान उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठजीको संसदीय कोषबाट निर्माण भएको भनिएको यस प्रवेशद्वारमा कुंदिएको राजा जनककी कूल देवी(राजदेवी) अझै पनि विजुली वत्तीको प्रकाशमा टल्की रहेको छ । देशी विदेशी पाहुनाहरु फोटो खिचेर लग्दै छन् ।

नबुझ्नेले ‘ल हेर, राजा जनककी कूलदेवीको मन्दिर’ भन्दै पत्रपत्रिका तथा जर्नलहरुमा खोजमूलक आलेख प्रकाशित गराउँछन् । बुझ्नेले ‘ जनकपुरधाममा मानिस अन्धो’ भन्दै चियाकफ छाट्ने छन् । ५२ कुटी ७२ कुण्डको जनकपुरधामको पहिचान धार्मिक र सांस्कृतिक हो । शिक्षा, स्वास्थ्य, उद्योग वाणिज्य क्षेत्रमा पर्याप्त संभावना भए पनि यथोचित विकास हुन सकेको छैन । धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवित राख्न अध्ययन अनुसन्धानसंगै यसको मौलिकतालाई संरक्षण गर्नु अनिवार्य मानिन्छ ।

धार्मिक ग्रन्थ, मिथक तथा जातक कथाहरुमा वर्णित विषय वस्तुलाई समय सापेक्ष परिमार्जन तथा परिष्कृत गर्दै लानु पर्दछ । तर दुर्भाग्य जनकपुरधाममा यो प्रवृति दिनानुदिन घट्दै गएको छ । वार्षिक लाखौं करोडो आम्दानी गर्ने यहाँका मठ मन्दिर र साधु समाज अयोध्या भार लग्न लाखौं करोडौँ खर्च गर्न सक्छन । तर जनकपुरधामका मठ मन्दिर यहाँका साधु समाजको विषयमा वर्षमा एउटै भए पनि स्मारिका वा पुस्तक प्रकाशन गर्न सक्दैनन् । हिन्दू धर्मको पक्षमा वकालत त गर्छन, तर वर्षमा एउटै विद्यार्थीलाई छात्रवृतिमा वेद वेदाङको अध्ययन गराउँन सक्दैनन् । जे भए पनि चरिदिनमा होरी सम्पन्न भएको छ । सबैलाई शुभकामना तथा बधाई ।।

Comment


Related News

Latest News

Trending News