अपडेट 
२०८० चैत्र १८, आईतवार ०६:४२

पर्सा प्रहरीले दुई जना चाइनिज नागरिकलाई पक्राउ गरेको छ । शनिबार सांझ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले अवैधरुपमा संचालन गरेको कलसेन्टमा छापामारी गरी चाइनिज नागरिकहरुलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवा स्थित मठ नजिक रहेको एक घरमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापामारी गरी दर्जनौ कम्प्युटर लगायत इलेक्ट्रोनिक्स सामग्रीहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलको नेतृत्वमा गरिएको छापामारीमा चाइनिजहरुले चलाउँदै आएको अवैध कलसेन्टरबाट भारीमात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गोप्यरुपमा चाइनिज नागरिकहरुले सञ्चालन गरेको अवैध कलसेन्टरमा छापामारी गरिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमार विक्रम थापाले पुष्टि गरेका छन् । अबेर रातिसम्म छापामारी चलेको बताउदै डीएसपी थापाले भने ,‘चाइनिज नागरिकहरु अवैध रुपमा सञ्चालन गरेको कलसेन्टरमा छापामारी गरिएको छ ।’ उनीहरुले संचालन गरेको कलसेन्टरबाट मोबाइलको ह्वाट्स एप तथा सामाजिक संजालको मेसेन्जरबाट ठगी लगायत विभिन्न आपराधिक धन्दाहरु भइरहेको सूचना प्राप्त भएपछि छापा मारिएको थापाले बताए ।

प्रहरीले छापामारी गरी २ जना चाइनिज नागरिक र २ जना नेपाली नागरिक सहित विभिन्न इलेक्ट्रोनिक्स उपकरणहरु समेत बरामद गरेको डीएसपी थापाले बताए । प्रहरीका अनुसार ६० थान कम्प्युटर र ल्याबटप बरामद भएको छ ।

Comment


Related News

Latest News

Trending News