अपडेट 
२०८० चैत्र १८, आईतवार १३:५३

लगानी सम्मेलनको पूर्वसन्ध्या भारतीय लगानीकर्तालाई आकर्षित गर्न भारतस्थित नेपाली दूतावासले ‘पावर समिट, २०२४’ आयोजना गर्ने भएको छ ।

यही वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा भारतीय लगानीकर्ता आकर्षित गर्ने लक्ष्यसहित नयाँ दिल्लीमा एक दिने सम्मेलन आयोजना हुने भएको हो ।

नेपाली दूतावासको आयोजनामा हुने सो सम्मेलनमा नेपालसहित भारतका दुई दर्जनभन्दा बढी जलविद्युत उद्यमी सहभागी हुनेछन् । यही चैत २९ गते हुने सम्मेलनमा सहभागीताका लागि नेपालबाट स्वतन्त्र जलविद्युत उत्पादकहरूको संस्था (इप्पान)को टोली नै दिल्ली जाँदैछ ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार सम्मेलनबाट भारतीय लगानीकर्तालाई नेपालको जलविद्युतको सम्भावनाबारे जानकारी दिइनेछ । यसका लागि कार्कीकै नेतृत्वमा एक दर्जन ऊर्जा उद्यमी भारत प्रस्थान गर्दैछन् । र, उनीहरूले व्यक्तिगत रूपमा पनि भारतका ऊर्जा लगानीकर्ता र संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने प्रयत्न गर्नेछन् ।

दूतावासले भारतको ‘इन्डिया फेडेरेसन अफ ग्रीन इनर्जी’ सँगको सहकार्यमा यो सम्मेलन गर्नेछ । सम्मेलनमा सो फेडेरेसनका प्रतिनिधिहरूको समेत उपस्थिति हुनेछ । उत्तर भारत हाइड्रोपावर, केयर रेटिङ लिमिटेड, अदानी ग्रुप, लगानी बोर्ड नेपाल, इप्पान, नेपालका राजदूत, नेपाल र भारतका ऊर्जा सचिवको समेत सहभागिता रहनेछ ।

नेपालमा भारतीय लगानीको धेरै आयोजनाहरू निर्माणाधीन चरणमा छन् । भारतीय लगानीसहितको अरुण तेस्रो जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा धेरै छ । यस्तै पश्चिम सेती अरुण चौथो लगायतका आयोजनामा समेत भारतीय लगानीकर्ता छन् । यसबाहेक, कयौँ आयोजनामा भारतीय लगानी छ ।

नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातको सम्झौता सम्पन्न भइसकेको छ । यससँगै आगामी आर्थिक वर्षदेखि नेपालबाट निर्बाध रूपमा खपतबाट बढी हुने बिजुली निर्यात हुनेछ ।

Comment


Related News

Latest News

Trending News