अपडेट 
२०८० चैत्र १९, सोमबार ०७:२२

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले समृद्ध नेपालका लागि पर्यटन क्षेत्रको विकास तर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

जनकपुरधाममा आइतबार नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस तर्फ ध्यान दिनुपर्ने बताए । नेपालमा हरेक कोणबाट पर्यटन क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले समृद्ध मधेश प्रदेश रहेकाले यसतर्फ पनि पर्यटनको प्रचुर सम्भावना रहेको उनले प्रस्ट्याए । जनकपुरधाममा जनककी छोरीको रुपमा सीता माताको जन्म, ऋषि मुनिहरूको शास्त्रार्थ गर्ने थलो, ५२ कुट्टी, ७२ कुण्डको नगरीको रुपमा रहेकाले यस ठाउँको सौन्दर्यकरण तथा विकासका लागि बाह्य चक्रपथको डिपिआरको निर्माण कार्य छिट्टै नै अघि बढाइने उनले बताए ।

उपप्रधानमन्त्री महासेठले जनकपुरधाम–अयोध्या र अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएकाले चाँडै रेल सञ्चालन भएमा पर्यटन व्यवसायीहरूलाई समेत यसले टेवा पुग्ने बताए । एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले जनकपुरधामको गरिमा र महिमा बढाउनका लागि पर्यटन व्यवसायीले गर्नुपर्ने बताउँदै उनले जनकपुरधामको विकासका लागि विशेष योजना ल्याउनु पर्ने बताए ।

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश संसदीय दलका सचेतक रामअशिष यादवले पर्यटन क्षेत्रको विकास गर्ने दायित्व वर्तमान संविधानले तीन वटै तहका सरकारलाई दिएकाले पर्यटन क्षेत्रको विकास तर्फ समन्वय, सहकार्य गर्दै काम गर्न जरुरी रहेको बताए । मधेश प्रदेशका प्रदेशसभा सदस्य शारदा देवी थापाले हिन्दूहरुको आस्थाको केन्द्र रहेको जनकपुरधामको विकास तथा सौन्दर्यकरणका लागि स्थानीय तहले विशेष पहलकदमी लिनुपर्ने बताइन् ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मधेश प्रदेशको समृद्धिको लागि हुलाकी राजमार्गको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराए । उनले पर्यटनलाई उद्योगको रुपमा विकास गर्न पर्यटन व्यवसायीहरूलाई हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

असार १५ गतेभित्र कमला पुल सम्पन्न गर्न निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असार १५ गतेभित्र कमला पुलको निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

मन्त्री महासेठले आइतवार विहान पुलको निरीक्षण गरेका थिए । उनले असार १५ गतेभित्र निर्माण सम्पन्न नभए सरकारले विकल्प खोज्ने चेतावनी दिए । “धनुषा र सिरहाका जनताले यतिका दिन दुःख भोग्यो अब भोग्न दिन्न”, उनले भने, “करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनःनिर्माण समयमै सम्पन्न गर्नुप¥यो ।” नेपाल सरकारले पनि निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने नीति लिएको उनले बताए । मन्त्री महासेठ जनकपुरधाम आएलगत्तै कमला पुलसँगै हुलाकी सडकको निरीक्षण गरे । उनले मधेशको लाइफलाइन मानिने हुलाकी सडकको निर्माण यथाशीघ्र सम्पन्न गराएर जनतालाई सास्ती भोग्नबाट मुक्त गराउने प्रतिबद्धता जनाए ।

उनले धनुषाको औरहीलगायतका ठाउँमा निर्माण हुन बाँकी सडकको निरीक्षण गरे । बन्न बाँकी सडक र पुल समयमै निर्माण सम्पन्न गर्न उनले ठेकेदारलाई निर्देशन दिए । ठाउँठाउँमा सडक र पुल निर्माणको काम सम्पन्न नभएर हुलाकी सडक सञ्चालनमा आउन सकेको छैन । कमला पुल निर्माणको ठेक्का सम्झौता भएको १० वर्षपछि सम्पन्न भए पनि उद्घाटनको एक महिना अगाडि गत असार १८ गतेको बाढीले भासिएको थियो ।

Comment


Related News

Latest News

Trending News