अपडेट 
२०८० चैत्र २१, बुधबार ०७:०५

वीरगञ्ज महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।

महानगरपालिकाले अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि सो अभियानलाई तीव्रता दिँदै घरटहरासमेतलाई हटाइएको छ । महानगरपालिकाले क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेसँगै सो अभियानलाई अघि बढाएको छ ।

महानगरपालिकाको बगहीबाट मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका–३ को पारस चोकसम्म करिब सात किलोमिटर पक्की सडक निर्माणाधीन छ । सडक क्षेत्रमा परेको भौतिक संरचना हटाउन पटकपटक सूचना जारी गरे पनि लामो समयसम्म नहटाएपछि महानगरपालिकाले टहरा हटाएको छ ।

यसअघि हुलाकी सडकअन्तर्गत वीरगञ्ज महानगरपालिका– १५ स्थित प्रतिमा चोकमा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको थियो । केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएका कारण हुलाकी सडक निर्माण अवरुद्ध भएपछि सो संरचना भत्काइएको थियो ।

प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब एक सय ५० मिटर लामो सडकखण्ड निर्माणको ठेक्का अभि कन्सट्रक्सनले पाएको छ । उक्त खण्ड ६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डअनुसार आगामी जेठ ३० गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रमा निर्माणाधीन भौतिक संरचना हटाउने अभियानलाई निरन्तरता दिएको महानगरपालिकाले अभियानकै क्रममा हालसम्म महानगर क्षेत्रका २८ वटा सार्वजनिक पोखरी तथा एक सय ४८ बिघाभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा ल्याएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सो अभियानका क्रममा वडा नं. १७ मा आठ, वडा नं. २६ मा चार, वडा नं. १८ मा २०, २४ मा २८, २९ र ३० नं. वडामा दुई–दुईवटा र वडा नं. १९ र २३ मा एक–एकवटा सार्वजनिक पोखरी महानगरपालिकाको नाममा लगत कायम गरिएको महानगरपालिकाले जनाएको छ । सार्वजनिक पोखरी रहेको १९ बिघा सात कठ्ठा जग्गा पहिचान गरी महानगरपालिकाको अधिनमा ल्याइएको छ

महानगर क्षेत्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायत क्षेत्र अतिक्रमण गरी स्थानीयले भौतिक संरचना निर्माणका साथै त्यसालई खेतबारीका रुपमा उपभोग गर्दै आएका छन् । विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीका रूपमा उपभोग गर्ने, सार्वजनिक पोखरी व्यक्तिगत रूपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्ने अभियान जारी राखेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

अतिक्रमित जग्गा खोज्न र नापजाँच गरेर सार्वजनिक र निजी जग्गा छुट् याउन महानगरपालिकाले विभिन्न वडामा प्राविधिक टोली पनि परिचालन गरेको छ । महानगरपालिकाले वडा नं ३० बेलबामा स्थानीय केहीले अतिक्रमण गरेर उपभोग गर्दै आएको ३२ बिघा जग्गा आफ्नो स्वामित्वमा ल्याएर सामूहिक कृषिखेतीका लागि प्रयास गरिरहेको छ ।

वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीयले अतिक्रमण गरी उपभोग गर्दै आएको १० बिघा १८ कठ्ठा जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएइको छ । केही दिनअघि वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित ‘ चिल्ड्रेन पार्क’को जग्गामा स्थानीयले निर्माण गरेका संरचनासमेत हटाइएको थियो ।

Comment


Related News

Latest News

Trending News