अपडेट 
२०८० चैत्र २२, बिहीबार ०७:३२

धनुषाको विदेह नगरपालिका—९ इटहर्वास्थित शिवशंकर जनता माध्यमिक विद्यालयको चारकोठे पक्की भवन हस्तान्तरण गरिएको छ ।

करिब एक करोड रुपैयाँको लागतमा नवनिर्मित भवन बुधबार एक समारोह बीच उद्घाटन गर्दै हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुमराती नदाफले बालमैत्री तथा समावेशी विद्यालय भवन, शौचालय, खानेपानीसहितको व्यवस्था पछि विद्यार्थीलाई पठनपाठनमा थप सहज हुने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक कृष्णदेव यादवले वि.सं. २०१७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयमा अहिले एक हजार ८० विद्यार्थी पठनपाठन गरिरहेको छ । विद्यालयको नवनिर्मित भवन संरचनाले शिक्षक, विद्यार्थी र अभिभावकलाई उत्साहका साथ शिक्षण सिकाइ प्रक्रियामा सहभागी हुन सहज हुने विश्वास व्यक्त गरे । उनले पहिले निर्माण गरिएका भवनभन्दा फरक आकर्षक, अत्याधुनिक र सुविधासम्पन्न संरचना बनेकाले त्यस क्षेत्रका चार सय ५० घरधुरीका सयाँै बालबालिकालाई विद्यालयतर्फ आकर्षित गर्न आफूहरूलाई पनि थप हौसला मिलेको बताए ।

त्यसैगरी विदेह नगरपालिका प्रमुख बेचन दासले स्थानीय निकायले थोरै स्रोतसाधनका बावजुद आफ्नो क्षेत्रमा रहेका विद्यालयको भौतिक अवस्था सुधारलगायतको काममा गैरसरकारी संस्था योगदान रहेको बताए ।

विद्यालयको जग्गादाता इटहर्वा मठका महन्त शिवनारायण पुरीको अध्यक्षतामा भएको कार्यक्रममा आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिनेश साह, प्लान इन्टरनेश्नलका रबीशंकर पण्डितले विद्यालयको आवश्यकता, संस्थाले तोकेका विभिन्न सूचकका आधारमा सो विद्यालयमा भवन निर्माण गरिएको बताए ।

सात महिनामा निर्माण सम्पन्न गरिएको चार कोठासहितको दुईतले अत्याधुनिक भवन, अपांगमैत्री संरचना, छात्रछात्रका लागि छुट्टाछुट्टै शौचालय, खानेपानी र हातधुने धारासहितको संरचना बनाइएको छ ।

Comment


Related News

Latest News

Trending News