अपडेट 
२०८० चैत्र २३, शुक्रबार १६:५२

‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा हार ब्यहोरेको छ । शुक्रबार खेलिएको लिग चरणको अन्तिम खेलमा बरोडा क्लबले नेपाललाई ३७ रनले हराएको हो ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको बरोडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १९ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोरावाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । सन्दीप जोराले अर्धशतकीय पाली खेले । उनले ४३ बलमा ५६ रन बनाए । विवेक यादबले टोलीको खातामा १७ रन थपेका थिए । ओपनर कुशल भुर्तेल पनि १६ रन बनाउँदै आउट भएका थिए । प्रतिस जिसी ६ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरी पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । यो खेलमा दीपेन्द्रले कप्तानको भूमिका निर्वाह गरेका थिए ।

ओपनर अनिल साह र गुलसन झा एक(एक रन बनाउँदै आउट भए । करण केसीले भने खाता पनि खोल्न सकेनन् । कुशल मल्ल पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । अन्तिम विकेटका रुपमा आकाश चन्द दुई रन बनाउँदै आउट भए । ललित राजवंशी एक रनमा अविजित रहे ।

त्यसअघि बरोडका लागि शास्वत रावतले ३१ र ध्रुव पटेलले २९ रन बनाएका थिए । अमित पासीले २६ रन बटुलेका थिए । बरोडाको खातामा मोहित मोंगियाले पनि २२ रन थपेका थिए । बरोडाले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो । नेपाली बलर गुलसन झा र करण केसीले दुई(दुई विकेट लिए । आकाश चन्द, ललित राजवंशी र प्रतिस जिसी पनि एक(एक विकेट हात पारेका थिए ।

नेपाली टोली यसअघि नै लिग चरणमा लगातार तीन खेल जित्दै फाइनलमा पुगिसकेको थियो । नेपाली टोलीले लिग चरणको आफ्नो पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको थियो । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई आठ रनले हराएको थियो ।

नेपाली टोलीले अब आइतबार हुने शसंखलाको फाइनल खेलमा गुजरातको सामना गर्नेछ । यसअघि लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेलअगावै उपाधि होडबाट बाहिरिइसकेको थियो

Comment


Related News

Latest News

Trending News