अपडेट 
२०८० चैत्र २४, शनिबार ०७:०८

हत्या आरोपिलाई सफाइ दिएको भन्दै उच्च अदालत जनकपुरको इजलासमै पीडित पक्षले नाराबाजी गरेका छन् । नारावाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनुषाको सबैला नगरपालिका–१ की सिकिलदेवी गडेरी र श्यामकिशोर साह सहितको जाहेरीका आधारमा सरकारवादी मुद्दामा आरोपिलाई उच्च अदालतले शुक्रबार सफाइ दिएको छ । सोप्रति असन्तुष्टी जनाउँदै पीडित पक्षले इजलासमै नाराबाजी गरेको छ ।

नारावाजी गरेको आरोपमा धनुषा प्रहरीले सञ्जीव राउत र रामसागर साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अदालतले मानहानीको मुद्दा चलाएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधिशद्वय किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले धनुषा जिल्ला अदालतको फैसला उल्टाउँदै २८ जना प्रतिवादीलाई सफाइ दिएको छ । धनुषा अदालतले महेश यादव, महेन्द्र यादव, रामविहारी भन्ने लालबिहारी यादवलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।

त्यस्तै जगदीश यादव, पुष्पनारायण यादव, रामविलास यादव, प्रदीप यादव, बुधेश्वर यादव, राजदेव यादव, सीताशरण यादव, देवलाल यादव, लक्ष्मीनारायण यादव, सन्तोष यादव, जगदीश राउत, महेन्द्र यादव, जिवछ यादव, दुर्गाप्रसाद साह, देवनारायण मण्डल र अच्छेलाल महतोलाई एक–एक वर्ष कैद सजाय फैसला गरेको थियो ।

सबैलाई उच्च अदालत जनकपुरले सफाइ दिएको उच्च अदालतका उप रजिस्ट्रार सुशील कुमार यादवले जानकारी दिए । सबैला स्थित तत्कालीन मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनको विषयमा २०७१ चैत ८ गते छलफल भइरहेको बेला विवाद भएको थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को एक पक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कसलाई उम्मेदवार बनाउने विषयमा रामदेव ठाकुरको घरमा बसेर छलफल गरिरहेको थियो । सोही क्रममा तत्कालीन एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका योगनारायण यादवको नेतृत्वको समूहले आक्रमण गरेको थियो । सो आक्रमणबाट रामसेवक राउत गडेरी गम्भीर घाइते भएका थिए । भने उनलाई उपचारका लागि काठमाण्डु लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

त्यस्तै छलफलमा सहभागी रामप्रकाश यादवलाई भने सोही राति १ बजे गोली हानी हत्या गरिएको थियो । दुवैका आफन्तको जाहेरीका आधारमा आक्रमण गर्नेहरू विरुद्ध मुद्दा दायर भएको थियो । त्यतिबेला धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजायसमेत दिएको थियो । तर उच्च अदालत जनकपुरले भने धनुषा जिल्ला अदालतको फैसलालाई उल्टाउँदै सबैलाई सफाइ दिएपछि पीडित पक्षले शुक्रबार इजलासमै नाराबाजी गरेका थिए ।

यता उच्च अदालत जनकपुरको इजलास नम्बर ४ को ढोका अगाडि नारावाजी गरेकाहरुलाई मानहानीको मुद्दामा तीन÷तीन हजार रुपैयाँ धरौटीमा आउँदो वैशाख १२ गते पेसी हुने गरी रिहा गरेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News