अपडेट 
२०८० चैत्र २५, आईतवार ०९:१३

उपचुनावका लागि हिजो उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै भाेलि उम्मेदवारको नामावाली प्रकाशन, पर्सि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ । आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुँदैछ । उपचुनावका लागि हिजो मनोनयन दर्ता भएको हो ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपचुनाव हुन लागेको हो ।

इलाम–२ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङसहित नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गराएन ।

उपचुनावका लागि इलाम–२ मा ७९ मतदानस्थल र एकसय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा झण्डै एक लाख १५ हजार आठ सय मतदाता छन् ।

त्यस्तै बझाङ प्रदेशसभा–१ (क) को उपचुनावका लागि विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । बझाङ प्रदेशसभा १ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । आयोगले बझाङमा प्रदेशसभा सदस्य चुनावका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । त्यहाँ ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।

Comment


Related News

Latest News

Trending News