अपडेट 
२०८० चैत्र २९, बिहीबार ०७:१७

बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापा लगातार दोस्रो कार्यकालका लागि माओवादी केन्द्रको टिकटबाट मेयरमा निर्वाचित भएका हुन् । उनको जीवनमा आधारित‘मेयर’ चलचित्र निर्माणाधीन रहेको छ । अनुसन्धानको जाँच अवधिमा थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा घर/जग्गा खरिद, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जा/ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, शेयर खरिद खर्च, सवारी साधन खरिदमा भएको खर्च, सेवा दस्तुर बापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ ८४ पैसा खर्च तथा लगानी भएको मध्ये ५ करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाको स्रोत नखुलेको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

आयोगले दिएको जानकारी अनुसार मेयर थापाको वैध आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ ४८ पैसा रहेको देखिन्छ । कुल वैधानिक आयलाई मेयर थापाले गरेको कुल व्ययसँग तुलना गर्दा उनको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच हिसाबकिताब मिलान नदेखिएको र सम्पत्ति ऋणात्मक देखिएको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

सार्वजनिक पद धारण गरेका मेयर थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ ६६ पैसाका गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ । उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएको भन्दै विगोसहित जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र मेयरकी पत्नी रेश्मी कुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाईबुहारी द्वारिका राउतलाई प्रतिवादी कायम गरेको छ । उनीहरूको नाममा हाल कायम रहेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिबाट बिगो जफत/असुल उपर गरी पाउनसमेत मागदाबी गरिएको प्रवक्ता घिमिरेले बताए ।

Comment


Related News

Latest News

Trending News