अपडेट 
२०८० चैत्र २९, बिहीबार १६:३५

एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिबारेको अनुमान परिमार्जन गरेको छ ।

एसियाली विकास बैंकले गएको सेप्टम्बरमा सार्वजनिक गरेको आउटलुकमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको थियो । तर आज एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतले हुने प्रक्षेपण गरेको हो । गएको वर्ष भने नेपालको अर्थतन्त्र १ दशमलव ८६ प्रतिशतले मात्रै बढेको थियो ।

यो वर्ष आन्तरिक खपत बिस्तारै बढेको, जलविद्युत् उत्पादन बढेको र पर्यटन क्षेत्रमा पुनरुत्थान भएको, इन्धनको मूल्य घटेको तथा व्यापार घाटामा कमी र रेमिट्यान्सको वृद्धिले समग्र आर्थिक वृद्धिमा सकारात्मक असर परेको एसियाली विकास बैंकले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ८ पुग्ने एडीबीको अनुमान छ ।

एडीबीका वरिष्ठ आर्थिक अधिकारी मानवर एस खड्काले यस आर्थिक वर्षमा नेपालमा कृषिको उत्पादन सन्तोषजनक रहने बताउनुभयो । उहाँले मलखादको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपदबाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको बताउनुभयो । पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा ऊर्जा थपिएको उहाँले उल्लेख गर्नुभयाे ।

Comment


Related News

Latest News

Trending News