अपडेट 
२०८१ बैशाख १, शनिबार ०५:२३

२०८० साल चैत २६ गते सोमबार दिनको १ बजे २० वर्षीय प्रिन्स महासेठको जनकपुरधाम–४ विश्वकर्मा चोक नजिक बीच सडकमै चक्कु प्रहार गरेर हत्या गरियो । प्रिन्स ज्यान जोगाउन गुहार माग्दै यता– उता भाग्दै प्राणरक्षाको याचना गर्दै थिए । तर पसलेहरु तमासा हेरिरहे । सडकमा साइकल, मोटरसाइकल, जिप, बस, ट्रक र ई–रिक्सा निर्वाध ओहोर–दोहोर गरी रहेका थिए । तर कसैले प्रिन्सको चिच्याहट सुनेनन् । पूर्वतर्फ सय मिटरको दूरीमा विद्यापति चोकमा जनपथ र ट्राफिक प्रहरी डियुटीमा त थिए । तर उनीहरुको ध्यान शिकारतर्फ थियो ।

हो, मोटरसायकलमा सवार भई गाउँबाट दूध, तरकारी बेच्न आउने, अस्पतालमा भर्ना भएका आफन्तका लागि खाना पु¥याउन आउने व्यक्तिहरु पुलिसका शिकार हुन् । खासमा जोसंग लाइसेन्स र ब्लू बुक हुदैनन् । भए पनि जो बोकेर आएका हुदैनन् वा रिन्यु गरेका हुदैनन् । जे, जसो भए पनि प्रिन्सको सार्वजनिक स्थलमा सार्वजनिक रुपमै हत्या भयो ।

नागरिक समाज र पुलिस टुलुटुली हेरिरहे । ल, भन्नोस् प्रिन्सको हत्या कसले ग¥यो ? पुलिसकै अनुसार नाइट्रोभेट सेवन गरेर मदहोस बनेका अर्जुन भनिने अजय साहले कि प्रिन्सको ज्यान जोगाउन अघि न आएका नागरिक समाज कि शिकारको खोजीमा विद्यापति चोकमा बसेका सुरक्षाकर्मीहरुले ? दुइ दिनपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन आयोजन गरेर प्रिन्सको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका जनकपुरधाम–४ कै २२ वर्षीय अर्जुन भन्ने अजय साहलाई सार्वजनिक ग¥यो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुरक्षा अधिकारीले आत्म विश्वासका साथ भनेका थिए – ‘मृतक र हत्या आरोपि दुवै मिल्ने साथी थिए । दुवै जना लागू पदार्थका अम्ली पनि थिए । संगै लागू पदार्थ सेवन गरेर जटहीबाट आउँदै गर्दा बाटोमा झगडा भएको थियो । विश्वकर्मा चोकमा अजयले छूरा प्रहार गरेर प्रिन्सको हत्या ग¥यो ।’ प्रहरी स्रोतका अनुसार–हत्या आरोपि अजय पटके गुण्डा हो । आफूलाई बाहुवली भन्छन् । पटक पटक प्रहरीले समातेको थियो । जेल पनि पठाएको थियो । आदि आदि ।

संगै लागू पदार्थ सेवन गर्ने अनि मिल्ने साथीको हत्या गरेको यो पहिलो घटना भने होइन । २०८० कार्तिक ९ गते बिहान ७ बजे जनकपुरधाम वडा नम्बर–२३ बसबिट्टी स्थित राधाकृष्ण मन्दिरदेखि बेलारोडतर्फ जाने सडक छेउको फेकन मुखियाको धान खेतमा जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापारा बस्ने फुलगेन चमारको २४ वर्षीय छोरा रुपेश चमारको शव फेला परेको थियो । त्यतिबेलाका प्रहरी उपरीक्षक विश्वराज खडकाले रुपेशको हत्या सोनापाडाकै २० वर्षीय पवन सहनी र हरिचन मण्डलले गरेको सार्वजनिक गरेका थिए ।

सीमावर्ती भारतीय गाउँमा संगै लागू पदार्थ सेवन गरेर फर्केका तीनै साथी बीच मोबाइलमा गीत सुन्ने विषयमा सामान्य विवाद भएको थियो । अनि पवन सहनी र हरिचन मण्डलले रुपेशको हत्या गरेको एसपी खड्काले दाबी गरेका थिए । यसैगरी २०८० साल कार्तिक ९ गते महोत्तरीको पिपरा गाउँपालिका– ५ का जगदिश साहको खेतमा १९ वर्षीय बसन्त पासवानको शव फेला परेको थियो । बसन्तको हत्याको कारण थियो– उनले घाटीमा लगाएको नक्कली सुनको सिक्री ।

१०० रुपियाँ मूल्य पर्ने नक्कली सुनको सिक्री लुट्न बिहार राज्यको मधुबनी जिल्ला अन्तर्गतको जयनगर बस्ने १९ वर्षीय दीपक मलिक र साहरघाट बस्ने १८ वर्षीय अमित मलिकले बसन्तको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । बसन्तकै छिमेकमा मावली घर आएका दीपक र अमित गाउँमा लागेको दुर्गा मेला हेर्न सँगै निस्केका थिए ।

अर्थात् उनीहरु साथी नै थिए । सीमावर्ती भारतीय बजार पुगेर संगै नाइट्राभेट ट्याब्लेट, फेन्सीड्रिल जस्ता लागू ओषधि सेवन गर्ने, लुकाई छिपाई नेपाल पनि ल्याउने, संगै सिगरेट, गाँजा,रक्सी सेवन गर्ने अनि सामान्य विवाद हुँदा आफ्नै साथीलाई हत्या गर्ने अपराध अचेल ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमासिकमा मधेशका ८ जिल्लामा ३८ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । ती हत्यामध्ये मादक पदार्थ सेवन गरेर हत्या गरेको घटनाहरु अधिक छन् ।

सीमावर्ती बिहार प्रदेशमा रक्सी निषेधित छ । नेपालमा नाइट्रोभेट टेबलेट र फेन्सीड्रील जस्ता ओषधि चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने प्रावधान छ । तर बिहारमा रक्सीको अभाव छैन, नेपालमा नाइट्रोभेट र फेन्सीड्रिल सेवन गर्नेहरुको संख्या निरन्तर बढ्दै छ । मादक पदार्थ ओसार पसारको लागि सीमावर्ती क्षेत्रमा वार्टर सिस्टम लागु भए जस्तो छ । यताबाट रक्सी लग्नु, उताबाट नाइट्रोभेट टेबलेट, फैन्सीड्रील आदि प्रतिबन्धित लागू पदार्थ पठाउनु । नेपालमा तीन तहको सरकार छ ।

तीनै तहको सरकार सडक, बिजुली, खानेपानी, मठ मन्दिर, मदरसा, पोखरी निर्माण, मर्मत तथा सौन्दर्यीकरण जस्ता परियोजनालाई प्राथमिकता दिएका छन् । यस चिल्ला सडकमा हिड्ने युवा पुस्ताबारे कसैको चिन्ता छैन । युवाहरु किन र कसरी दुव्र्यसनमा लाग्दै छन् ? भारतबाट दुई किलो चिनी, किलो, बेसार ल्याउँनेको मोटरी चोटरीको जाँच गर्ने सीमाक्षेत्रका खटिएका सशस्त्र र जनपथ प्रहरी लागू औषधि सेवन गर्न नियमित भारत पुग्ने युवालाई चिन्दैनन् ?

चिन्दैनन् भन्ने उनीहरुको तालिममा वा नियतमा दोष मान्नु पर्दछ । स्थानीय जनप्रतिनिधिहरु सीमापारीका जनप्रतिनिधि वा प्रशासनसंग सहकार्य गरेर लागू पदार्थको बिक्री विवतरणमाथि प्रतिबन्ध लगाउन किन सकिरहेका छैनन् ?

प्रहरी प्रशासनका उपल्ला अधिकारीहरु काउण्टर पार्टका अधिकारीहरुसंग सहकार्य गरेर पनि सीमावर्ती क्षेत्रमा लागू पदार्थको बिक्री वितरणमाथि रोक लगाउन सक्छन् । अधिकारको लागि संघीय सरकारलाई गाली गर्न नथाक्ने मधेश प्रदेश सरकार बढ् दो दुव्र्यसनबारे संघीय सरकारसंग किन चिन्ता राख्न सकेका छैनन् ?

संघीय सरकारले यस विकराल समस्या बारे भारत सरकारसंग किन बोल्न सकेका छैनन् ? यस समस्याको समाधान गर्न जनचेतनासंगै सीमावर्ती सरकारसंग सहकार्य गर्नु आवश्यक छ ।

आजदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । समस्त पाठकलाई शुभकामना दिन आजको ब्लग लेख्न मन लागेको थियो, तर सकिन । र पनि आफ्ना प्रिय पाठकहरुलाई शुभकामना दिँदै वर्ष २०८१ मा कुनै पनि प्रिन्सलाई बीच सडकमा मर्नु नपरोस् भन्ने कामना पनि गर्दछु । नयाँ वर्ष शुभ होस् ।।

Comment


Related News

Latest News

Trending News