अपडेट 
२०८१ बैशाख ४, मंगलवार ०७:१४

देशभरि नै प्रदेशमा उथलपुथल भइरहेको बेला मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलवार चौथो पटक विश्वासको मत लिन लागेका छन् ।

संघीय गठबन्धनमा फेरबदल भएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रमुख समर्थक दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौंथो पटक विश्वासको मत लिन लागेका छन् ।

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी(जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस रहेका छन् । गठबन्धन बाहिरबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पनि सरकारलाई समर्थन गरिरहेको छ । मधेश प्रदेशमा लोसपाबाट रमेश प्रसाद कुर्मी वन मन्त्री छन् ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभामा हाल नेकपा एमालेको २५ , जसपाको १९, लोसपाको ९, माओवादीको ९ र नेकपा एसको ७ जना सभासद रहेका छन् । त्यसैगरि नेपाली कांग्रेसको २२, जनमत पार्टीको १३, नेपाल संघीय समाजवादी पार्टीको १, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को १ र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) १ रहेका छन् ।

मधेश प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । त्यस मध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा अदालतको फरार सूचीमा रहेका छन् । मुख्यमन्त्री यादवलाई बहुमतका लागि कम्तीमा ५४ जना सभासदको समर्थन चाहिन्छ । एमालेका सभामुख बाहेक २४, जसपाका १९, लोसपाका ८, माओवादीका ९ र एसको ७ गरी ६७ जना सभासदको समर्थन निश्चित नै देखिएको छ । राप्रपा, नाउपा र संघीय समाजवादीको १/१ पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने संभावना रहेको छ ।

विपक्षमा कांग्रेसको २२, जनमतको १३ जनागरि ३५ जना हुने पक्का नै छ । कांग्रेस र जनमत पार्टीले सरकारलाई दिएको समर्थन गत वर्ष नै फिर्ता लिइसकेका छन् । जनमत पार्टीले सप्तरी जिल्लाको मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास प्रकरणमा भएको घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रदेश सभाको बैठक यस अघि अवरुद्ध गरेका थिए ।

विश्वासको मत लिन मुख्यमन्त्रीले डाक्न लगाएको प्रदेश सभाको बैठक मंगलवार १ बजे बस्ने भनिएको छ । तर त्यस अघि मुख्यमन्त्री यादवले बिहान ८ बजे जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादव लगायतसित छलफल गर्ने कार्यक्रम रहेको उच्चस्रोतले जनाएका छन् । प्रदेश सभा परामर्श समितिको सोमवार भएको बैठकमा प्रदेश सभालाई विजनेश दिन मुख्यमन्त्रीलाई आग्रह गर्नेमा कांग्रेसले जोड दिएको थियो ।

कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले प्रदेश सभाको बैठक नियमित सञ्चालन नगर्नु मुख्यमन्त्रीको कमजोरी रहेको बताए । स्रोतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा पनि जनमतले अवरोध गर्ने तयारी गरेको छ । मुख्यमन्त्री यादवसित बिहानको बैठकमा सहमति नभए अबरोध गर्ने संकेत जनमतले दिएको स्रोतले जनाएका छन् । तर मुख्यमन्त्री यादवले विश्वासको मत लिने बैठकमा अबरोध गर्न नमिल्ने बताएका छन् ।‘सरकारको विधेयक, नीति लगायतका विषयमा विरोध गर्ने लोकतान्त्रिक अभ्यास नै हो’ उनले भने–‘तर विश्वासको मतमा अवरोध गरेर बैठक अवरुद्ध गर्न मिल्दैन् ।’ बैठक चलाउने जिम्मेवारी सभामुखको रहेकाले सहमति हुनेमा मुख्यमन्त्री यादव विश्वस्त रहेको देखिन्छ । लामो समयदेखि प्रदेश सभाको बैठक बसेको छैन् ।

सभामुख रामचन्द्र मण्डलले आफूखुशी बोलाएको बैठकमा जनमत पार्टीले अवरोध गरेदेखि फेरि बैठक डाकिएको थिएन् । विश्वासको मत लिने एक मात्र एजेण्डाका लागि प्रदेश सभाको बैठक डाकिएको छ ।

देशको अन्य ६ वटा प्रदेश समस्याग्रस्त छन् । सुदूरपश्चिम प्रदेशमा नाउपाकै दुई जना सभासदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।

कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन एमाले र माओवादीले संयुक्त रुपमा प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् । बागमती प्रदेशमा मन्त्रालयहरु फुटाएर संख्या थपिएको छ ।कर्णाली र लुम्बिनीको स्थिति पनि जटिल नै छ । संघीय सत्ता गठबन्धनमा खटपट सुरु भएको प्रभाव सबै प्रदेशमा देखिएको छ । यता, जनता समाजवादी पार्टीको आइतबार बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । तर, जसपा सभासदहरुले भने योजना बाँडफाँटमा मुख्यमन्त्री यादव संग असन्तुष्ट देखिएका छन् ।

Comment


Related News

Latest News

Trending News