अपडेट 
२०८१ बैशाख ५, बुधबार ०८:३७

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवले एमाले–माओवादी गठबन्धन लामो समयसम्म नटिक्ने भन्दै छिट्टै सत्ता समीकरण फेरिने बताएका छन् ।
गृहगाउँ लक्ष्मनीयाँ बजारमा मंगलबार शहीद कामेश्वर कुशेश्वर प्रतिष्ठान तथा नेपाल किसान महासंघ धनुषाको संयूक्त आयोजना नयाँ वर्ष २०८१ को शुभकामना कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री यादवले फेरी माओवादी, कांग्रेस र एकीकृत समाजवादीको सरकार बन्ने ठोकुवा गरे ।

दुई ठुला नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन बनाएर सरकार संचालन गरेमा निरंकुश सरकार बन्ने खतरा रहेकाले पुनः माओवादी र एकीकृत समाजवादी मिलेर कांग्रेसले पुरानो गठबन्धन व्युताउँने पर्ने बताए ।

उनले अहिलेको गृहमन्त्री रवि लामिछानेले जनताले जम्मा गरेको सहकारीको रकम अपचलन तथा ठगी गरेका कारण राजीनामा गर्नुपर्ने बताए ।

उनले भने, ‘विगतमा माओवादी र कांग्रेस बीचमा केही विषयवस्तुमा असमझदारी भएपछि गठबन्धन भत्किएकाले विगतको समिक्षा गरेर पुनः कांग्रेस–माओवादी–माधव नेपालको पार्टीसंग गठबन्धन गरेर सरकार बनाउनुपर्ने आवश्यकता रहेको छ ।’

सहमहामन्त्री यादवले अघि थप्दै भने, ‘माओवादीले पनि हामीलाई विगतमा धोखा दिएकै हो भने कांग्रेसले पनि त्रुटी गरेकै हो, जसको कारणले दुई दलबीच असमझदारी उत्पन्न भयो, र सरकार समीकरण भत्कियो । अब त्यो हुनु हुँदैन, पुनः माओवादी, कांग्रेस र एकीकृत समाजवादीको सरकार बन्नुपर्छ ।’

सो कार्यक्रममा राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले मुलुकमा किसानलाई निकै सास्ती खेप्नु परेको भन्दै किसानको समस्यालाई तत्काल समाधान गर्नुपर्ने बताए ।

नेपालमा किसानहरु एकजुट भएर किसानले आफ्नो हकहितमा आन्दोलन गर्नुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News