अपडेट 
२०८१ बैशाख ८, शनिबार ०८:५९

लहान नगरपालिका–४ खुटीखोलामा आर्यघाट निर्माण कार्य सुरु भएको छ । वर्षौँदेखि आर्यघाट निर्माण हुनुपर्ने सहरी क्षेत्रका बासिन्दाहरूले माग गरिरहेको आर्यघाट निर्माण कार्य सुरु भएपछि खुसी देखिएका छन् ।

लहान नगरपालिका प्रमुख उपप्रमुख क्रमशः महेश प्रसाद चौधरी र राम चलितर महतोले संयुक्त रूपमा आर्यघाट निर्माण कार्यको विधिवत् पूजा गरेर प्रारम्भ गरे ।

नगरप्रमुख महेश प्रसाद चौधरीले दुई करोड ७१ लखको लागतमा निमार्ण हुने आर्यघाट १८ महिनामा सम्पन्न हुनेगरी टेण्डर भएको बताए । आर्यघाट मात्रै होइन अढाई बिगहा जग्गामा सुन्दरपार्क र मृत्युपछि शान्ति महसुस हुनेगरी वृत्तचित्र समेत बनाइने नगरप्रमुख चौधरीले जानकारी दिए । विगत वर्षदेखि नै आर्यघाट निर्माण कार्य सुरु गर्दा विवादित बनेको थियो ।

पूर्व नगरप्रमुख मुनि साहकै कार्यकालमा टेण्डर भएको थियो । लहान–४ का वडाध्यक्ष रामनाथ पण्डितको अगुवाइमा लहान–४ का स्थानीयहरूले रोकेको थियो । यस विषयलाई कसरी समाधान गर्नुभयो भने सञ्चारकर्मीहरूको जिज्ञासामा नगरप्रमुख चौधरीले भने– ‘स्थानीयहरूले नै आर्यघाट निर्माण नभएपछि ठुलो सास्ती भयो ।

अब कुनै वाधा व्यवधान खडा नगर्ने लिखित निवेदन दिएपछि निर्माण कार्य सुरु भएको छ । सबैको सहमतिमा निर्माण कार्य सुरु भएपछि अब विवाद हुनेछैन ।’ लहान नगरपालिका १,३,४,५,६,७,८,९र १० नम्बर वडामा स्थानीयहरूलाई वर्षाको समयमा लास जलाउन ठुलो सास्ती भइरहेकोले वर्षौँदेखि आर्यघाट बनाउन लहान नगरपालिकासँग निवेदन र माग गरिरहेको स्थानीय भरत भोगेन्द्र प्रसाद साह बताए ।

आर्यघाट निर्माण स्थल खुटी खोलाको खुल्ला मैदानमा गौरव गर्ने योजनाहरू सफल बनाउन खाली रहेको जग्गा संरक्षण गर्ने नीति समेत लहान नगरपालिकाले बनाइसकेको नगरप्रमुख चौधरीले प्रस्ट्याए ।

रमणीय पार्क, मानव मोक्ष मन्दिर लगायत संरचनाहरू तयार भएपछि पर्यटकीय क्षेत्रको रूपमा समेत स्थापित हुने आशाको साथ सुन्दर नक्सा बनाएको कार्यक्रमको प्राविधिक इन्जिनियर अनिक यादवले बताए भने टेण्डर लिएका ठेकेदार कमल नारायण चौधरीले १८ महिनाको कार्य ६ महिनामा नै पुरा गर्नेगरी तीव्र रूपमा कार्य अघि बढाइने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News