अपडेट 
२०८१ बैशाख ९, आईतवार १६:३५

कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने जनाइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । कतारबाट सरकारी टोली आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ ।

अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

Comment


Related News

Latest News

Trending News