अपडेट 
२०८१ बैशाख १०, सोमबार ०७:३७

नेकपा माओवादी परित्याग गरी रामकुमार शर्मा दम्पती आइतबार जनता समाजवादी पार्टी( जसपा)मा फर्केका छन् ।

शर्मा तत्कालीन मधेश जनअधिकार फोरमका संस्थापक नेता हुन् । उनकी पत्नी इन्दु शर्मा माओवादी केन्द्रीय सदस्य र संघीय सांसद रहीसकेकी छन् । शर्मालाई पार्टीमा भित्र्याउन जसपाका अध्यक्ष उपेन्द्र यादव जलेश्वर आएका थिए ।

जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रामकुमार शर्मा, इन्दू शर्मा, नेपाली काँग्रेसको महासमिति सदस्य सुरेन्द्र चौधरी , एमालेबाट महोत्तरी गाउँपालिकाकी उपाध्यक्ष प्रत्याशी प्रमिला चौधरी , लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका नेता एवं तत्कालीन राजपा युवाका केन्द्रीय अध्यक्ष रोशन सिंह ‘राणा’, युसुफ साफी , पुष्पज राज चमन, जनमतका नेता डा. सरोज ठाकुर लगायतले जसपामा प्रवेश गरेको जसपाका राजनीतिक समिति सदस्य एवं पूर्व मन्त्री हरिनारायण यादवले जनाए ।

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका हरिनारायण यादव थोरै मतले लोसपाका अध्यक्ष महन्थ ठाकुरसित पराजित भएका थिए । जसपाले संघीय संरचनालाई संस्थागत गर्न लागेको बताउँदै संघीयताका लागि अत्यन्त महत्वपूर्ण लडाईको बेला नेता शर्मा साथमा रहेको अध्यक्ष यादवले सुनाए । ‘मधेश र मधेशीको अधिकार सुनिश्चित गर्न जसपा निरन्तर लडिरहेको छ ’ उनले भने, अब मधेशको विकासलाई मूल मुद्दा बनाएर अगाडि बढेको छ ।

उनले खर्चिलो निर्वाचन प्रणाली रहेकोले संघीयता टिकाउन गाह्रो रहेको उल्लेख गर्दै उनले कार्यकारी राष्ट्रप्रमुखको निर्वाचन हुनुपर्नेमा जोड दिए । ‘देशको वर्तमान संविधानप्रति देश र विदेशमा चरम असन्तुष्टि रहेको छ’ उनले भने, संविधान संशोधन अनिवार्य रहेको छ । ‘समग्र मधेश स्वायत प्रदेशको मागबाट जसपा विचलित भएको छैन’ उनले भने, अन्तरिम संविधानमा उल्लेखित मधेशलाई दुई प्रदेश विपरीत कांग्रेस र कम्युनिष्टले मधेशलाई टुक्रा टुक्रा गरेको छ । सरकार बनाउने र खसाउने खेलमा नै देश फसेको उल्लेख गर्दै अध्यक्ष यादवले राजनीतिक स्थिरताका लागि वर्तमान निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

जसपा महोत्तरी जिल्ला अध्यक्ष रामप्रकाश यादवको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा अध्यक्ष यादवले सुशासनका लागि पनि संविधानको संशोधन आवश्यक भएको बताए । अध्यक्ष यादव आइतबार नै काठमाण्डु फर्केका छन् ।

 

Comment


Related News

Latest News

Trending News