
जानकी आँखा अस्पतालका पुराना कर्मचारीहरु आन्दोलित भएका छन् । कुनैबेला आँखाको उपचारका लागि नेपाल–भारत सीमावर्ती क्षेत्रमा समेत निकै प्रख्यात रहेका जानकी आँखा अस्पताल अहिले आन्तरिक किचलोको जालोमा फसेको छ ।
व्यस्थापन पक्षकै कमी कमजोरीका कारण जानकी आँखा अस्पताल जनकपुरधाम विवादको भुमरीमा फस्दै गएको आरोप लगाइएको छ । अस्तपाललाई व्यवस्थित पारदर्शी र विधि विधान अनुसार संचालन हुनुपर्ने माग राख्दै पुराना कर्मचारीहरुसमेत आन्दोलित भएका छन् । तीन महिनादेखि कर्मचारीहरुले तलब नपाएको र केही करारका कर्मचारीहरुलाई व्यवस्थापन पक्षले आफूखुसी हटाएपछि पुराना स्वतन्त्र कर्मचारी युनियन आन्दोलनमा उत्रेका छन् ।
व्यवस्थापन पक्षले अस्पतालबाट केही कर्मचारीलाई आफूखुसी हटाएसंगै अस्पतालको अवस्था लथालिंग भएको छ । जसको कारणले अस्पतालको सरसफाई नहुँदा दुर्गन्धित हुँदै गएकाले सेवाग्राहीलाई समेत सास्ती खेप्नु परेको अस्पतालका कर्मचारी नुतन झाले आरोप लगाए । आँखा अस्पतालमा रेडक्रस सोसाइटीका धनुषा जिल्ला अध्यक्ष पदेन अध्यक्ष रहने प्रावधान रहे पनि चार वटा संस्थाको अध्यक्ष रहेका नरेशप्रसाद सिंह नै अस्पतालको अध्यक्ष रहनुले रेडक्रस सोसाइटीमाथि पनि प्रश्नचिन्ह खडा भएको नुतन झाले बताए ।
जनकपुरधाममा सोमबार पुरानो स्वतन्त्र कर्मचारी युनियनले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिंहले आफूलाई जोगाउन रेडक्रस सोसाइटी लाई करिव तीन करोड रुपैयाँ बुझाएको समेत आरोप लगाए । रेडक्रसले विगतमा आँखा अस्पताललाई अनुदान दिँदै आएको भए पनि रेडक्रस धनुषाका अध्यक्ष तथा आँखा अस्पतालका पदेन सदस्य नरेश सिंहले आर्थिक अनियमितता गरेको अस्पतालका कर्मचारी श्यामसुन्दर झाले आरोप लगाए ।
१६ बुँदे माग अघि सार्दै नियमसम्मतरुपमा पारदर्शीतासहित लोकसेवा आयोगको व्यवस्था अनुसार कर्मचारी भर्ना गर्नुपर्ने, एकै व्यक्ति चार वटा संस्थानको अध्यक्ष हुन नपाउने, रेडक्रस सोसाइटीको विधान अनुरुप कामकारवाही हुनुपर्ने, जानकी आँखा अस्पताललाई नेपाल सरकारको नियमानुसार दर्ता गरी संचालन गर्नुपर्नेलगायतका माग अघि सार्दै आन्दोलनलाई जारी राख्ने उनले बताए । उनले भने–‘गंगाराम यादव अध्यक्ष रहेको बेला आँखा अस्पतालको खातामा तीन करोड रुपैयाँ थियो तर, वर्तमान अध्यक्ष नरेश प्रसाद सिंह हुँदा अहिले सो रकम खातामा नदेखिएकाले छानबिन हुनुपर्छ ।’ सो कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघ मधेश प्रदेशका अध्यक्ष उदयचन्द्र मिश्र, जनमत पार्टीका स्थानीय नेता रन्जित कुमार रायलगायतकाले आँखा अस्तपाललाई व्यवस्थित गरी जनताको सेवाप्रवाह प्रभावकारी गनुपर्ने भन्दै विधि विधान अनुसार अस्पताल संचालन हुनुपर्नेमा जोड दिएका थिए ।
यस भन्दा पूर्व रामानन्द युवा क्लवका अध्यक्ष आशुतोष झाको अगुवाइमा सर्वपक्षीय भेलाबाट अस्पताललाई व्यवस्थित बनाउने जिम्मा क्लवलाई दिइएको थियो ।