अपडेट 
२०८१ बैशाख ११, मंगलवार ०६:४४

पूर्वमन्त्री एवम् जसपाका सचेतक प्रदीप यादवले विकास बजेटबारे प्रधानमन्त्री पुष्पकमल दहालको धानाकर्षण गराएका छन् ।

पर्सा क्षेत्र नम्बर १का सांसद समेत रहेका नेता यादव सोमबार प्रधानमन्त्रीसंग भेट गरी वीरगञ्ज महानगरको विकास बजेटको लागि ज्ञापन समेत बुझाएका छन् । संघीय सरकारले वीरगञ्जलाई उपेक्षा गर्दै आएकोले यस पटकको विकास बजेट तर्जुमा वीरगञ्ज महानगरलाई विशेष प्याकेज उपलब्ध गराउन प्रधानमन्त्रीलाई आफूले ज्ञापन दिएको सांसद यादवले बताए ।

सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भेटेर वीरगञ्ज सहित पर्सा संसदीय क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज सहितको बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग माग आफूले मांग गरेको पूर्वमन्त्री यादवको भनाइ थियो । भौतिक विकास लगायत स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन, कृषि, खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची नै बनाएर सांसद यादवले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्रमा बुझाएका छन् । मुख्य रुपमा जरजर अवस्थामा रहेको वीरगञ्ज स्थित नारायणी रंगशालाको मर्मत सम्भार र स्तरोन्नति, केन्द्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको भवन निर्माण, घडीअर्वा पोखरी पार्कको स्तरोन्नति, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लगायतका भौतिक निर्माणको योजनाहरु आउने आर्थिक बजेटमा व्यवस्थापन गर्न सांसद यादवले दिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पर्सा संसदीय क्षेत्र नम्बर १मा रहेको वीरगञ्ज महानगरपालिको ग्रामीण भेगका वडा ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान (चिडिया खाना)को निर्माणका लागि १० करोड रुपैयाँ तथा वीरगञ्ज–१५ मा डिपिआर बनिसकेको लक्ष्मणवा पार्क निर्माणका लागि ७ करोड रुपैयाँ पनि नयाँ बजेटमा विनियोजन गर्न यादवले माग गरेका छन् । यसैगरि निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण , विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खानेपानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा समावेश गर्न सांसद यादवले प्रधानमन्त्री प्रचण्डसंग माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नगरी वीरगञ्जसहित त्यसक्षेत्रको विकास र समृद्धिका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले जानकारी दिए ।

Comment


Related News