अपडेट 
२०८१ बैशाख १३, बिहीबार ०७:०७

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा गाछी टोलमा बुधबार बिहानैदेखि लागेको भीषण आगलागीबाट सयौं घर खरानी भएको छ ।

फरमुद शेखको घरबाट बिहान १० बजेतिर सल्केको आगो नियन्त्रणमा लिन झण्डै ७ घण्टा लागेको थियो । आगो सल्केको कारण खुल्न नसकेको वैमुल खातुनले बताएकी छन् ।

नगरप्रमुख हरिप्रसाद मण्डलले जनाए अनुसार आगलागीबाट १ सय १५ घर जलेको छ । ‘आगलागीबाट भएको क्षति यकिन नभए पनि झण्डै ५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ’ मेयर मण्डलले भने, क्षतिको विवरण संकलन र पीडितहरुलाई राहत वितरण सुरु गरिएको छ । अग्नि पीडितहरुलाई तत्काल च्यूरा, चिनी, पानी, त्रिपाल, बाल्टीन लगायतका राहत सामग्रीहरु उपलब्ध गराइएको मेयर मण्डलले जनाए । आगलागीबाट केही पशु समेत जलेका छन् ।

आगो लागेर फुस, खपडा, एलबेस्टर, जस्तापातालगायतका छाना भएको अधिकांश घरहरु जलेका छन् । पीडितहरु आगलागी भएको बस्ती भन्दा पर रहेको चौरमा बसेका छन् । आगलागी भएको जरलवहा टोल गुठी संस्थानको जग्गा रहेकाले ठूला पक्की घर नबने पनि भएको घरमा पर्याप्त सम्पत्ति रहेको बताइएको छ । सो टोलमा मुसलमान समुदायको बस्ती रहेको छ ।

मटिहानीमा लागेको आगलागी नियन्त्रणमा लिनका लागि मटिहानी, जलेश्वर, रामगोपालपुरसहित जनकपुरधामलगायतका वारुणयन्त्रहरु लागेका थिए । पानीटंकीहरु लिएर पनि आगो नियन्त्रणमा स्थानीयहरुसमेत जुटेका थिए । आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत नगरपालिका कर्मचारी, स्थानीय वासिन्दाहरु लागेका थिए ।

स्थानीय जिल्ला सुरक्षा र प्रशासनिक प्रमुखहरु समेत आगलागी भइरहेकै बेला घटनास्थलमा पुगेका थिए । उनीहरुले आगो नियन्त्रण गर्न विभिन्न पालिकाहरुसित समन्वय गरी बारुणयन्त्र मगाउने लगायतका व्यवस्थापन गरेका थिए । जरहलवा बस्तीमा रहेको फुसको घर, परालको टहरोमा आगलागी भएको छ भने हावाहुरी बतास चलेको कारण आगलागी नियन्त्रणमा लिन कठिन भएको नगरप्रमुख मण्डलले बताए ।

आगो लागेको कारण धनुषा र महोत्तरीको टाढाटाढा सम्म तातो हावा चलेको थियो । दिनभरि नै शरीर पोल्ने हावा चलेको थियो । यसैबीच सर्लाहीको बलरा नगरपालिकाको मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाख रुपैयाँको क्षति भएको छ । आगो नियन्त्रण गर्ने क्रममा २ जना घाइते भएका छन् ।

बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा मंगलबार राति आगलागी हुँदा सो क्षति भएको छ । आगलागीबाट छोरीको विवाहका लागि राखिएको लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले बताए ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको जनाइएको छ । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित २ जना घाइते भएका छन् । घाइतेको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको छ । अर्का स्थानीय २३ वर्षीय राज मंगलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैबीच, मंगलबार राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार रुपैयाँ मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, हृदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको छ । दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।

यसैबीच महोत्तरीका वनक्षेत्रमा फेरि डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिंगर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका छन् । अहिले पूर्व–पश्चिम राजमार्गमा पर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ ।

चैत दोस्रो साता अघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वन क्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन् । बर्दिबास नगरपालिका–१० स्थित खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला ३ दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा परेको बताए ।

पछिल्ला ३ दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तिलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जंगलमा डढेलो बढेको उनले जनाए । ‘बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ’ उनले भने, त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन । वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेले बताइन ।

Comment


Related News

Latest News

Trending News