अपडेट 
२०८१ बैशाख १४, शुक्रबार ०६:४६

बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् । बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ ।

बनीबुतो र खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन् । फर्मुद सुस्केरा हाल्दै भने, “आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !” मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ । ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा । “कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले)”, बस्तीकी आगलागी पीडित लखनदेवी पासवानले भने–‘ आब परिवारके कोना गुजारा चलत(अब परिवारको गुजारा कसरी चल्ला !” बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी गएका थिए । घर फर्कदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस हुनुभएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौको थातथलो देखेर अझै बेचैन छन् ।

अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती छ । त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रुप लिँदै एक सय भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी बनायो । आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँच वटा पशुचौपाया जल्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षतिभएका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो । सो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो । आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो ।

बिहीबार अन्य सङ्घ संस्था, समाजसेवी र स्थानीय व्यापारीले सहयोग प्रदान गरेको छ । यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरु र विभिन्न निकायसँग अपिल गरिएको बताए ।

आगलागी पीडितलाई राहत वितरण

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं. ६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई राहत वितरण सुरु भएको छ ।

बुधबार मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा भएको आगलागीमा एक सय भन्दा बढी घर जले ।

बिहीबार बिहानै अग्निपीडित परिवार हरूलाई मटिहानी नगरपालिका वडा नं. ८ का सुनचाँदी व्यवसायी जयशंकर गुप्ताले आलु, आटा तथा बस्ने पटिया वितरण गरे । त्यसैगरी जलेश्वर नगरपालिका–२ निवासी मनुराज चौधरीले अग्निपीडित परिवारलाई एक–एक कार्टुन चाउचाउ वितरण गरेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । उनले वुधबार राति नै आगलागी पीडितहरूलाई खानेकुरा, पानी त्रिपाल तथा रेडक्रस सोसाइटीले बाल्टिन र मग वितरण गरेको जानकारी दिदै बिहीबार बिहानै बिस्कुट वितरण गरिएको बताए ।

नगरपालिकाको स्रोतसाधनबाट धान्ने गरी आगलागी पीडितहरूलाई सहयोग भइरहेको बताउँदै नगरप्रमुख मण्डलले विपद् को यस घडीमा सहयोगको लागि सबैसँग अपिल गरे ।

बिहीबार बिहानै मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी, राज्यमन्त्री शारदा थापा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा गृहसचिव वीरेन्द्र यादवसहितका टोलीहरू घटनास्थल पुगेर निरीक्षण भ्रमण गरे । उनले अवस्था भयावह रहेको बताउँदै क्षतिको यकिन गरेर मधेश सरकारबाट आगलागी पीडितहरूलाई सहयोग गर्ने आश्वासन दिए ।

जरलहवा बस्तीमा वुधबार लागेको आगलागीलाई नियन्त्रणमा लिन १० वटा वारुणयन्त्रलाई झण्डै सात घण्टाभन्दा बढी समय लागेको थियो । अहिले आगलागी पीडितहरूलाई राहत र पुनसर््थापना कसरी गर्न सकिन्छ भन्नेमा समय दिनुपरेको बताउँदै नगरप्रमुख मण्डलले आगलागी पीडितहरूलाई संयमता साथ बस्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News