अपडेट 
२०८१ बैशाख १५, शनिबार ०७:४९

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्झौता भंग गरे पछि जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहको धौडधुप शुरु भएको छ ।

राखेपले गुठी संस्थान केन्द्रीय कार्यालयसंग सम्झौता भंग गरेपछि जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माण अन्योलमा परेको छ । राखेपले रंगशाला निर्माणका लागि गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको जनकपुरधाम–१४ स्थित १७ बिघा १६ कठ्ठा ११ धुर २ कनमामध्ये १६ बिघा १७ कठ्ठा १९ धुर १ कनमा जग्गा लिजमा लिन २०७४ मंसिर १ मा गुठी संस्थान केन्द्रीय कार्यालयसँग सम्झौता गरेको थियो । बहालमा लिएको जग्गामा खेल पूर्वाधार निर्माण गर्न संघीय सरकारबाट बजेटको व्यवस्थापन नभएको, जग्गाको बहाल रकम महँगो भएको र सम्झौताबमोजिम वार्षिक रूपमा बहाल रकम बुझाइ रहनुपर्ने परेकोले सम्झौता भंग गरेको राखेपले जनाएको छ ।

राखेपले गत वर्ष पुस ३ गते गुठी संस्थान केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘‘सम्झौता कायम गरिरहनु उपयुक्त नदेखिएको हुँदा सो सम्झौताको सर्त नम्बर १६ बमोजिमको बाँकी बक्यौता बहाल रकम राखेपबाट भुक्तानीको प्रक्रिया अगाडि बढाउन तथा गुठी संस्थान प्रधान कार्यालयलाई राखेपबीच भएको सम्झौताको सर्त नम्बर १९ बमोजिम सो करार भंग गरी सोको सूचना गुठी संस्थान प्रधान कार्यालयलाई जानकारी गराउने मिति २०८० माघ ३ गतेको सदस्य सचिवस्तरीय निर्णयअनुसार जानकारीका लागि अनुरोध छ’ भनिएको छ । सम्झौता भंग गर्न राखेपले कदम अगाडि बढाएपछि मधेश प्रदेशकै गौरवको योजना भनिएको रामजानकी रंगशाला निर्माण कार्य अन्योलमा परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले पहल गर्न थालेको छ ।

रंगशाला निर्माण गर्न छाडेको भन्दै दौडधुप बढाएका नगरप्रमुख साहले राखेपको कारण अन्योलको वातावरण सिर्जना भएको उनको भनाइ छ । आफूहरूलाई कुनै जानकारी नै नदिइ सम्झौता भंग गर्न गुठी संस्थानलाई पत्र पठाएर राखेपले बदमासी गरेको आरोप उनले लगाए । ‘रंगशाला निर्माण मधेश प्रदेशकै लागि गौरवको योजना रहेकाले निर्माणाधीन सो रंगशालामा कतिपय प्रतियोगिताहरू आयोजनासमेत भइसकेको छ,’ रंगशाला निर्माणकै विषयलाई लिएर काठमाण्डु पुगेका नगरप्रमुख साहले भने,‘ उपमहानगरलाई जानकारी नै नदिई सम्झौता भंग गरिएको छ, यो गलत भएको छ ।’ सम्झौता भंग गर्न राखेपले गुठी संस्थानलाई पठाएको विषय सार्वजनिक भएपछि नगरप्रमुख साहले पहलकदमी लिएको छ ।

काठमाण्डु पुगेर उनले उपप्रधान तथा भौतिकमन्त्री रघुवीर महासेठ, युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ, लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीलगायतका नेताहरूलाई भेटेर रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउन पहल गरिदिन अनुरोधसमेत गरे । खेलकुदमन्त्री श्रेष्ठलाई समेत नगरप्रमुख साहले भेटघाट गरेको छ । उनले राखेपले गरेको गलत निर्णयकै कारण रंगशाला निर्माण कार्यमा बाधा पर्न नदिन आफू प्रतिबद्ध रहेको बताए ।

रंगशालाको पूर्वाधार निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले लाखौं रकम लगानी गरिसकेको छ भने त्यहाँ महेन्द्रनारायण निधि मेमोरियल टि– २० क्रिकेट प्रतियोगिता, मेयर कप, राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतियोगिताहरूको आयोजना गरिसकेको छ । नगरप्रमुख साह रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माण उपमहानगरपालिकाको विशेष चासो र सरोकारको विषय भएकाले जसरी पनि निर्माण गरेर छाड्ने दाबी गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमणमा आएका बेला यहाँको विकासका लागि घोषणा गरेको एक सय करोड रूपैयाँ पनि रंगशाला निर्माणका लागि खर्च गर्ने योजना प्रदेश सरकारले बनाएको छ । त्यस्तै मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले भारत सरकार, स्थानीय सरकार तथा प्रदेश सरकारको सहकार्यतामा बजेट व्यवस्थापनसम्बन्धी कार्य भइरहेको जनाएको छ ।

चालु आर्थिक वर्षमा समेत पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको बताउँदै मन्त्री सुरिताकुमारी साहले राखेपले सम्झौता भंग गर्नु दुःखद रहेको बताइन् ।

Comment


Related News

Latest News

Trending News