अपडेट 
२०८१ बैशाख १६, आईतवार ०७:४४

मधेश प्रदेशका जिल्लामा पछिल्लो दुई साता यता अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४४ डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।

चर्को गर्मी र तातो हावा ‘लू’ चल्दा बाहिर काम गरेर जीविका चलाउनेहरूको दैनिकी झनै कष्टकर बन्दै गएको छ भने गर्मीकै कारण अस्पतालमा बिरामीको चाप पनि बढेको छ । अहिले मधेशका जिल्लामा उख्खरमाउलो गर्मीको प्रभाव बालबालिकादेखि वृद्ध वृद्धासम्मलाई परेको छ । गर्मी बढ्दै गएपछि सहर बजारमा मानिसको चहलपहलसमेत घट्न थालेको छ ।

वैशाखको पहिलो सातादेखि तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जनकपुरधाम विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लोपटक वैशाख ११ गते अत्यधिक गर्मी महसुस भएको छ । जनकपुरधाम विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका कर्मचारीहरुले वैशाखकै पहिलो हप्तादेखि धेरै नै गर्मी भएको बताए । चैत–वैशाख महिना भनेको वसन्त ऋतुको महिना हो ।

यो महिनालाई जाडो र गर्मीको सन्तुलन अर्थात् अनुकूल वातावरण भएको महिना बताइन्छ । तर जलवायु परिवर्तनका कारण उत्पन्न बेमौसमी गर्मीले जनजीवन प्रभावित तुल्याएको छ । सन् २०२३ सर्वाधिक गर्मी भएको वर्ष थियो र अब प्रत्येक वर्ष झन्–झन् गर्मी बढ्ने वातावरणविद्हरुको भनाइ छ ।

साधरणतया प्रिमनसुनमा गर्मी बढी हुने भए पनि यस वर्ष वसन्त ऋतुमै गर्मी अत्यधिक बढेको छ । जलवायु परिवर्तनको प्रभावका कारण गर्मी अत्यधिक बढेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामका अस्पतालहरुमा यति बेला गर्मीका कारण हुने स्वास्थ्य समस्या लिएर आउने बिरामीको भने संख्या ह्वात्तै बढेको छ ।

उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, वान्ता हुने लगायतका असर देखिने गर्छ । तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । गर्मीका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट बच्नका लागि सतर्कता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

गर्मीबाट जोगिन पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन, छाता र पानी लिएरमात्र घरबाहिर निस्किन सुझाव चिकित्सकहरुको छ । १० वर्षभन्दा कम र ६० वर्ष माथिका मानिसहरूमा बढी प्रभाव पर्ने उनीहरुको भनाई छ । विगतमा केही ढिलागरी सुरु हुने गर्मी यस पटक छिटो गरेर सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले तापमान अबका केही दिनसम्म चल्ने अनुमान गरेको छ ।

Comment


Related News

Latest News

Trending News