अपडेट 
२०८१ बैशाख १७, सोमबार ०७:१७

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र नेकपा एसलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरूको जिम्मेवारीअनुसार सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सुरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरूमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसंख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।

सवै मन्त्रीहरुले आइतबारनै पदभार ग्रहण गरे पनि माओवादी केन्द्रवाट वन मन्त्रीको जिम्मेवारी पाएका भरतप्रसाद साहले भने पदभार ग्रहण गरेनन् । माओवादीका साहले आफूलाई मुख्यमन्त्रीसँग अर्थ मन्त्रालयको विषयमा मौखिक सहमति भएको र अर्थ मन्त्रालयनै पाउनुपर्ने अडान लिएका कारण वन मन्त्रालयमा पदभार ग्रहण नगरेको उनका निकट स्रोतले जनाएको छ ।

मुख्यमन्त्री यादव तेस्रो पटक विश्वासको मत लिइरहँदा साहले लोसपा र जनमतका सभासद्हरुसंग भारतको सुरसण्डमा सरकार ढाल्ने रणनीति बनाइ रहेका थिए । उनी आफ्नै नेतृत्वमा सरकार गठनका लागि पटक–पटक असफल प्रयास गरेका थिए । चौथो पटक मुख्यमन्त्रीले सपथ लिँदा साहले मन्त्रालय थप गर्न भने पछि मुख्यमन्त्रीले मन्त्रालय थप गरेर माओवादीलाई दिएका छन् तर कुनै खास मन्त्रालयको बिषयमा कुराकानी नभएको मुख्यमन्त्री यादवले बताए ।

मुख्यमन्त्री यादवले उहाँ कुनै कारणवस पदभार ग्रहण गर्नु भएको छैन् तर, गर्नु हुन्छ भनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । सन्तुष्टि र असन्तुष्टिको कुनै बिषय नरहेको मुख्यमन्त्री यादवले बताए । उनले भने–‘किटान गरेर मन्त्रालय लिने दिने बिषयमा कुनै कुरा भएको छैन् र उहाँ वन मन्त्रालयबाट असन्तुष्ट पनि हुनुहुन्न ।’ मधेश प्रदेश सरकारले माओवादीका मधेश प्रदेशका संसदीय दलका नेता साह वन मन्त्रालय पाउने भएपछि मन्त्रालयको वरियता क्रममा वन मन्त्रालयलाई तेस्रो स्थानमा राखेका छन् । जव कि यस भन्दा पहिला वन मन्त्रालय तल्लो स्थानमा थियो । माओवादीबाट पर्यटन मन्त्री बनेकी सुनिता यादवलाई हटाउन नेता साहले मुख्यमन्त्रीलाई पटक पटक दबाब दिई आफू मन्त्री बन्ने चलखेल गरेका थिए ।

माओवादीमा गुटबन्दीका कारण सुनिता कमजोर गुटमा परेको र उनलाई हटाएर साह आफै मन्त्री बनेका छन् । माओवादीका एक सभासद्का अनुसार मन्त्री साह अहिले त्यतिकै घुर्की देखाइ रहेका छन् पछि आफै पदभार ग्रहण गर्नेछन् । सरकारमा जानका लागि आतुर भएका नेता साहलाई मुख्यमन्त्रीले नमनाए पनि उनी पदभार ग्रहण गर्नेमा माओवादीकै सभासद्हरु विश्वस्त छन् ।

Comment


Related News

Latest News

Trending News