अपडेट 
२०८१ बैशाख १७, सोमबार ०७:४३

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा दमकलबाट पानी वितरण गर्न थालिएको छ ।

पछिल्लो समय यहाँ चापाकल र अन्य पानीका स्रोत सुकेपछि वितरण गर्न थालिएको छ । नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले नगरपालिकाको उत्तरी क्षेत्र दुर्गाटोल र दिगम्बरपुर गाउँमा पानी स्रोत सुकेको बताए । ती दुवै गाउँमा रहेको चापाकल सुकेर पानी आउन बन्द भएको छ ।

चापाकलमा पानी आउन बन्द भएको गाउँका बासिन्दालाई विगत एक सातादेखि वारुण यन्त्रको मद्दतले खानेपानी उपलब्ध गराइरहेको उनले जानकारी दिए । नगरपालिकासँग खानेपानी ट् याङ्कर नभएकाले पानी वितरणका लागि वारुण यन्त्रलाई उपयोगमा ल्याइएको बताउँदै नगर प्रमुख यादवले साँझ, बिहान र आवश्यकता अनुसार पानी उपलब्ध गराइरहेको बताए । उनले पानीको दीर्घकालीन समस्या समाधानसमेत जुटेको सुनाए । उनले भने–“दुर्गाटोलस्थित महादेव मन्दिर नजिक बिग्रेको अवस्थामा रहेको डिप ट्युबवेल सञ्चालन ल्याउन मर्मत सम्भारको काम भइरहेको छ । त्यसलगायत सोही बस्तीमा २० लाख रुपैयाँको लागतमा एक थान नयाँ डिप ट्युबवेल र तीन वटा इनार खन्ने योजनामा काम भइरहेको छ ।” त्यस्तै, दिगम्बरपुरमा पनि खानेपानीको समस्या समाधान गर्न त्यहाँ रहेको खानेपानी योजना सञ्चालनमा ल्याउने काम भइरहेको नगर प्रमुख यादवको भनाइ छ । दिगम्बरपुरमा पनि २० लाख रुपैयाँको लागतमा नयाँ डिप ट्युबवेल र चार वटा नयाँ इनार खन्न बजेट विनियोजन गरिएको उनले बताए ।

स्थानीय सितेशकुमार झाले जमिन मुनी पानीको जल स्तर तल हुँदै गएकाले पानीका स्रोत सुकेको बताए । उनले विगत केही वर्षदेखि सुख्खा याम सुरु भएसँगै यस क्षेत्रमा पानी स्रोत सुक्ने गरेको बताउँदै पानीको दीर्घकालीन उपायमा जुट्न यस क्षेत्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यलाई आग्रह गरे ।

धनुषाको उत्तरी क्षेत्र क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयको भनाइ छ ।

Comment


Related News