अपडेट 
२०८१ बैशाख १८, मंगलवार ०६:२९

पर्सा प्रहरीले भारतीय अपराधी बब्लु पासवानलाई आइतबार राती पक्राउ गरेको छ । नेपाल प्रहरीको मस्टवान्टेड सूचीमा रहेका पासवानलाई आइतवार राति ११ बजे पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

लगभग डेढ बर्ष अघि काठमाण्डुको गोठाटार हत्याकाण्डका मुख्य योजनाकार पासवान नेपाल प्रहरीको उच्च खोजी लिष्टमा थिए । पक्राउ परेका ४५ वर्षीय बब्लु पासवान भन्ने गणेश पासवान करिब एक दशकदेखि सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधिका साथै भारतको रक्सौलमा लागू पदार्थको कारोवार गर्दै आएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोली आइतबार राति ११ बजेतिर वीरगञ्ज–१६ स्थित भुटनदेवी मन्दिर नजिक पुग्दा पासवानसंग जम्काभेट भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता नायब उपरीक्षक बिक्रम थापाका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार पासवान प्रहरीलाई देखेने बितिकै भाग्न खोज्दा नियन्त्रणमा लिन दुई राउण्ड गोली प्रहार गरिएको थियो । प्रहरीले चलाएको गोली पासवानको देव्रे खुट्टाको घुडाँमुनि लागेर घाइते भइ लडेपछि उनलाई नियन्त्रणमा लिएर उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताए

यता पासवानकी श्रीमती बेबी कुमारीले आफ्नो श्रीमानलाई भारतीय प्रहरीले अपहरण गरी नेपाल प्रहरीलाई सुपुर्द गरेको आरोप लगाएकी छन् । उनले सीमावर्ती रक्सौल, हरैया थानाका प्रमुख अनुज कुमारले शुक्रबार सांझदेखि आफ्ना श्रीमान्लाई गायब गरेको आरोप लगाउदै स्थानीय थानामा निवेदन दिएकी थिइन । उनले आफ्ना श्रीमान् पासवानलाई गत शुक्रबार हरैया थानाध्यक्ष (ईन्चार्ज) अनुज कुमार सिंहले फोन गरेर थानामा बोलाएको र सोहीदिन देखि पासवान गायब भएको बताउँदै आएकी थिइन् ।

प्रहरीले पासवानलाई वीरगञ्ज–१६ स्थित भुटनदेवी मन्दिर क्षेत्रबाट आइतबार राति गोली हानेर पक्राउ गरेको बताए पनि उनलाई भारत रक्सौलको हरैया क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा नेपालबाट गएको प्रहरी टोलीले गत शुक्रबार नै नियन्त्रणमा लिएर वीरगञ्ज ल्याएको पासवानको परिवारजनको आरोप छ ।

२०७९ असोज ३ गते काठमाण्डुको गोठाटारमा सर्लाही मंलगवाका महमद दर्जी भन्ने लाल महम्मदलाई गोली हानी हत्या गरिएको थियो । उक्त हत्याकाण्डका मुख्य योजनाकार पासवान रहेको नेपाल प्रहरीको ठहर छ । पाकिस्तानको खुफिया संस्था आइएसआईको आतंकबादी संगठन लश्करे तोयबाको निगरानीमा विभिन्न आपराधिक गतिविधिहरु गर्दै आएका लालमहमदलाई रक्सौलबाट गएका आपराधिक टोलीले गोली हानी हत्या गरेको थियो । उक्त हत्याकाण्डपछि फरार रहेका पासवान प्रहरीसंगै पाकिस्तानी गुप्तचर संस्था आइएसआईको मोस्ट वान्टेड सूचीमा रहेको भारतीय संचार माध्यमहरुले जनाएको छ ।

पक्राउ गरेका पासवानसंगै घटनास्थलबाट मेड ईन यूएस लेखिएको स्वचालित पेस्तोल १ थान, त्यसमा लाग्ने गोली दुई राउण्ड, खैरो हेरोइन ४९ ग्राम, गाँजा ८८० ग्राम र बीआर ०५ एएल ६१३९ नम्बरको मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News