अपडेट 
२०८१ बैशाख १८, मंगलवार ११:४८

तराई मधेशमा गर्मीसँगै तातो लहर अर्थात (हिट वेभ) बढ्ने क्रम जारी छ ।

बिहानै तराई मधेशका ४ वटा जिल्लाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो तराईका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा माथि पुग्ने अनुमान छ ।

केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले आउँदो शुक्रवारसम्म तातो हावाको लहर बढ्ने भएको छ । पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने भन्दै  महाशाखाले सूचना निकालेको छ ।

विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।

त्यस्तै आज देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम  सफा छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई ठाउँमा हल्का हिमपातको अनुमान छ । लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै ठाउँमा हावाहुरीको सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News