अपडेट 
२०८१ बैशाख २०, बिहीबार ०६:२१

वीरगञ्ज स्थित नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राति चोरी भएको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकबाट १ करोड ३४ लाख ६५ लाख चोरेर फरार भएकामध्ये चार जना लाई पक्राउ गरिएको छ । बैंक चोरी प्रकरण घटनामा संलग्न रहेकामध्ये पर्सा प्रहरीले दुई जना भारतीयसहित चार जनालाई पक्राउ गरेको छ भने सो बैंकबाट चोरी भएकोमध्ये केही रकमसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चोरीमा संलग्न रहेको आशंकामा रौतहटबाट दुई जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ भने नेपाल– भारत सीमावर्ती क्षेत्रको घोडासहनबाट पनि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । चोरीमा संलग्न समूहका बाँकी एक जना भने अझै फरार छन् भने उनको खोजी भइरहेको जनाइएको छ । बैंकमा चोरी गरेको आरोपमा पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका– ७ स्थित पथरा बुधरामका संजय जयसवाल र छोटेलाल जयसवाल रहेका छन् भने भारतीय प्रहरीले बिहारको पूर्वी चम्पारण जिल्लाको घोडासहनका मन्टु पासवान र ललन कुमारलाई नियन्त्रणमा लिएको जनाइएको छ । संजय र छोटेलाललाई प्रहरीले रौतहटको मौलापुरबाट मंगलबार पक्राउ गरेको थियो । उनीहरु दुवै जना रात्रिबसमा चढेर काठमाण्डु जाँदै गर्दा प्रहरीले बस घेरा हालेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आरोपित ती दुवै जना अहिले पर्सा प्रहरीको हिरासतमा छन् । आरोपित मन्टु र ललनलाई भने भारतीय प्रहरीले घोडासहनबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु अहिले भारतीय प्रहरीकै हिरासतमा छन् । उनीहरुलाई नेपाल ल्याउने आन्तरिक तयारी थालेको जनाइएको छ । सो घटनामा संलग्न अर्का एक आरोपितको पनि खोजी कार्य भइरहेको स्रोतको भनाइ छ ।

बैंकमा चोरी गर्नुअघि चोरहरुको समूहले गत आइतबार वीरगञ्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटेलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको स्रोतको दाबी छ । पर्सा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले चोरीको घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्म दुई जनालाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी दिए । भारतमा पनि एक जना पक्राउ परेको जानकारी भारतीय प्रहरीबाट आए पनि सोको पुष्टि हुन बाँकी रहेको प्रवक्ता थापाले बताए । पक्राउ परेकाहरुमाथि अनुसन्धान थालिएको भन्दै भारतमा पक्राउ परेकालाई ल्याएपछि थप अनुसन्धानबाट कुराहरु खुल्ने उनले बताए । तर अहिलेसम्म पक्राउ परेकाहरु आरोपित चोरलाई भने प्रहरीले सार्वजनिक गर्न मानेनन् ।

गत आइतबार राति नबिल बैंक वीरगञ्ज शाखाबाट चोरी भएको १ करोड ३४ लाख ६५ हजार रुपैयाँमध्ये केही रकम भारतमा फेला पारेको छ । भारतको घोडासहनमा लुकाएर राखिएको अवस्थामा सो रकम भारतीय प्रहरीले फेला पारेको जनाएको छ । चोरी भएको रकम ६ वटा झोलामा राखेको अवस्थामा भेटिए पनि कति रकम भेटिएको छ भन्ने बारे यकिन गर्नका लागि रकम गणना गर्ने काम भइरहेको अनुसन्धानमा खटेका एक प्रहरी अधिकारीले बताए । प्रवक्ता थापाले पनि चोरी भएको रकममध्ये केही रकम फेला परेको बताए । उनले चोरी भएको रकममध्ये केही रकम भारतमै भेटिएको खबर पनि आएको पुष्टि गरे । तर सो रकम कति भेटिएको छ भन्ने बारेमा रकमको गणना पछि मात्रै भन्न सकिने उनले भने ।

रकम चोरी भएको नबिल बैंकका शाखा प्रबन्धक विजय पौडेलले बैंकमा रातिको समयमा सुरक्षागार्ड नराखेर आफूहरुबाट चुक भएको बताए । प्रबन्धक पौडेलले नबिल बैंकको कुनै पनि शाखामा मात्र रातिको लागि सुरक्षा गार्ड नरहेको बताउँदै उनले भने, ‘वीरगञ्ज बाइपासको शाखाको सवालमा हामी बढी नै कन्फिडेन्ट थियौँ, जसकारण रातिमा सेक्युरिटी गार्ड राख्ने आवश्यकता नै भएन । जुन हामीबाट चुक भएकै जस्तो लााग्छ ।’

बाइपास रोडमा रहेको सो बैंकको शाखाबाट गत आइतबार राति पाँच जनाको संख्यामा रहेका चोरहरुले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाकसमा रहेको १ सय रुपैयाँको नोट र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सिसिटिभीको फुटेजमा देखिएको थियो । बैंकको भल्टभित्र रहेको फलामे सेफमा पनि ५ करोड रुपैयाँभन्दा बढी नै रकम राखिएको थियो । तर चोरहरुले टिनको बाकसमा रहेको रकममात्रै चोरेर लगेको र सेफमा रहेको रकम सेफमै सुरक्षित रहेको छ । चोरले रकम चोरेर लगेपछि उनीहरुले सो बैंकको मूल गेटमा नयाँ ताल्चा लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News