अपडेट 
२०८१ बैशाख २०, बिहीबार ०६:४२

सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीका अग्निपीडितको बिजोग भएको छ । अघिल्लो दिन मंगलबार दिउँसो भएको भीषण आगलागिले सर्वस्व गुमाएपछि उनीहरुको बिजोग भएको छ ।

आगलागिमा चिम्टीको मसुहरी र यादव बस्ती खरानी भएको छ । आगलागी बुधबार बिहान १० बजे मात्र पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले बताए । मंगलबार दिउँसो ३ बजेतिर लागेको आगो तीन वटा बारुणयन्त्र, स्थानीयवासी, प्रहरी र सेनाको मद्दतले बुधबार बिहान १० बजेमात्र पूर्ण रुपमा निभाउन सकिएको उनले बताए । “प्रारम्भिक चरणमा ४६ घरधुरीको सय भन्दा बढी घर जलेर नष्ट भएको विवरण संकलन गर्न भ्याएका छौं, उनले भने, “यद्यपि क्षतिको विवरण संकलन गर्ने कार्य अझै जारी नै रहेकोले यकिन विवरण उपलब्ध गराउन केही समय लाग्छ ।”

यता प्रचण्ड गर्मी र घामका बीच अग्निपीडितहरु कोही छाता ओढेर खुल्ला चौरमा, कोही रुख मुनी त कोही खेतमै पाल टांगेर बसिरहेका छन् । जसमध्ये बृद्धबृद्धा, बालबालिका र महिलाको अवस्था दयनीय छ । अधिकांश अग्निपीडितको जीउमा लगाएको लुगा बाहेक केही बचेको छैन् । मंगलबार राति आफूले उपलब्ध गराएको चाउचाउ, च्युरा, मुरही र बिस्कुटको भरमा रात गुजारेका अग्निपीडितका लागि बुधबार बिहान खानाको व्यवस्था स्थानीय समाजसेवी तथा केही संघसंस्थाले मिलाइदिएको वडा अध्यक्ष जयकिशोर दासले जानकारी दिए । उनले अग्निपीडितको बिचल्ली भएको भन्दै बस्ती पुर्ननिर्माणका लागि सरकार तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए । यता अग्निपीडितलाई सहयोग जुट्ने क्रम पनि सुरु भएको छ ।

बुधबार दिउँसो जसपा अध्यक्ष उपेन्द्र यादवकी श्रीमती पार्वती यादवको नेतृत्वमा जसपाका प्रदेश तथा स्थानीय नेताहरुसहित पुगेको टोलीले अग्निपीडित प्रत्येक परिवारलाई दुई/दुई थान छाता, ४० किलो चामल, १० किलो तरकारी र दुई/दुई कार्टुन पानी उपलब्ध गराएको छ । उक्त टोलीमा जसपा मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परबिन, पूर्वउप सभामुख उपमा देव, युवा नेता लक्ष्मण यादव, अरुण यादव, दिनेश साह, चन्द्रशेखर चौधरी, नारायण प्रसाद यादव, महिला नेतृ रमिला साह, पुनम यादव, सावित्री पण्डित, आशा साह लगायत सहभागी थिए ।

यसैबीच नेपाली काँग्रेसका सचिव सनत मंडल, एकल महिला आत्मनिर्भर तथा पुनस्र्थापना केन्द्र सप्तरीकी प्रमुख जुही ठाकुरले एक प्रेस विज्ञप्तिमार्फत पीडितलाई तत्काल राहत उपलब्ध गराउन सहयोगका लागि विभिन्न निकाय र सर्वसाधारणलाई आह्वान गरेका छन् । स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट मंगलबार दिउँसो सल्किएको आगो समयमा नियन्त्रण हुन नसक्दा ६४ परिवारको १ सय १४ घर खरानी भएको थियो ।

Comment


Related News

Latest News

Trending News