अपडेट 
२०८१ बैशाख २१, शुक्रबार ०६:४८

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका भरतप्रसाद साहले छिट्टै पदभार सम्हाल्ने भएका छन् । बिना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका साहले असन्तुष्टिलाई कायम राख्दै छिट्टै पदभार सम्हाल्ने भएका छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी लिने अडानका कारण मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई बिना विभागीय मन्त्रीकै रुपमा राखेका थिए । मुख्यमन्त्री यादवले बिना विभागीय मन्त्री बनेको करिब दुई सातापछि साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको थियो । तर उनले अर्थ मन्त्रालयमा दाबी गर्दै सो मन्त्रालयको कार्यभार सम्हाल्ने आनाकानी गर्दै आएका थिए ।

केही दिन अघि बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठकमा समेत उनलाई अर्थ मन्त्रालय नदिने मुख्यमन्त्री यादवले स्पष्ट संकेत गरेपछि उनी बैठक नै छाडेर हिडेका थिए । यसैबीचमा मन्त्री साह काठमाण्डुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाट गरेपछि उनलाई तत्काल जिम्मेवारी पाएकै मन्त्रालय सम्हाल्न निर्देशन दिएको उच्च स्रोतले जनाएको छ ।

उच्च स्रोतका अनुसार मन्त्री साहले यसै साता भित्रै कार्यभार सम्हाल्ने जनाएको छ । ‘मन्त्री साहले पार्टीको निर्देशनसमेत पाइसकेकाले तत्कालै एक दुई दिनमै पदभार सम्हाल्ने छन्’ स्रोतले भने । मुख्यमन्त्री यादव तेस्रो पटक विश्वासको मत लिइ रहँदा मन्त्री साहले नेपाल–भारतको सीमावर्ती क्षेत्रस्थित भारत बिहारको सुरसण्डमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालका केही प्रदेशसभा सदस्यसहित नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, माओवादीलगायतका सभासदहरुलाई लिएर मुख्यमन्त्री बन्ने दाउमा भए पनि उनको योजना भने सफल हुन सकेको थिएन् । उनी केही क्षणकै लागि सो बैठकमा मुख्यमन्त्री बने पनि सो योजना तत्कालै तुहिएको थियो ।

लोसपा नेपाल मधेश प्रदेशका फरार संसदीय दलका नेता अभिराम शर्माले समर्थन नगर्ने संकेत गरेपछि साहको मुख्यमन्त्री बन्ने योजना तुहिएको थियो । त्यतिबेला उनलाई एमाले मधेश प्रदेशका संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री बनाउनमा साहका लागि अह्म भूमिका निर्वाह गरेका थिए ।

मुख्यमन्त्री बनाउनमा साथ र समर्थन गरेका एमालेले आन्तरिकरुपमा अर्थ मन्त्रालयमा सहयोगस्वरुप मुख्यमन्त्री यादवलाई दबाब सृजना नगर्दा मन्त्री साहलाई वन तथा वातावरण मन्त्रालयमै चित्त बुझाउनु परेको स्रोतको भनाइ छ । मुख्यमन्त्री यादव बिहीबार सप्तरीको महदेवा गाउँपालिकामा भएको आगलागी निरीक्षण गर्ने क्रममा मन्त्री साह पनि संगै रहेको र उनलाई मुख्यमन्त्री यादवले कार्यभार सम्हाल्न सुझाएको स्रोतको भनाइ छ ।

यस अघि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लोसपाबाट रमेशप्रसाद कुर्मी थिए । कांग्रेसले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि विश्वासको मत लिने क्रममा लोसपाले पनि मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । लोसपाले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएपछि सो मन्त्रालय माओवादीको भागमा परेको छ ।

यसअघि जनमत पार्टीले मुख्यमन्त्री यादवलाई दिएको समर्थनसहित सरकारबाट बहिर्गमित भएपछि रित्त रहेको दुई मन्त्रालयसहित श्रम तथा यातायात मन्त्रालय माओवादीको भाग परेको थियो । तर भरतप्रसाद साहले अर्थ मन्त्रालय पाउनुपर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् पुनःगठन गर्नुपर्ने माग अघि सार्दै आएका थिए । सोही अनुसार भरत प्रसाद साहको योजनामा लोसपाले मन्त्रालय छाडे पछि माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयबाट सुनिता यादवलाई जिम्मेवारीबाट हटाएर माओवादीबाटै युवराज भट्टराईलाई जिम्मेवारी दिएको छ भने मन्त्री साह अर्थ मन्त्रालयको जिम्मेवारी पाउनका लागि अन्तिमसम्म पनि मुख्यमन्त्री यादवदेखि प्रधानमन्त्री प्रचण्डसम्म लविंग गरिरहेका थिए । तर उनलाई माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले समेत स्पष्टरुपमा पाएको मन्त्रालयको जिम्मेवारी सम्हाल्न निर्देशन दिएपछि उनी केही दिनमै वन तथा वातावरण मन्त्रालयको कार्यभार सम्हाल्ने उच्च स्रोतले जनाएको छ । उनी मन्त्री बन्न र सुनिता यादवलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारीबाट हटाउनकै लागि मुख्यमन्त्री यादव समक्ष मन्त्रिपरिषद् पुनःगठनको माग गर्दै आएको स्रोतले दाबी गरे ।

मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को तेस्रो वरियता क्रममा वन तथा वातावरण मन्त्रालयलाई तोकेको मधेश प्रदेश प्रमुख कार्यालयले करिब एक साता अघि जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्री साह लालबाबु राउत सरकारको पालामा गृह कानुन तथा संचार मन्त्री थिए ।

Comment


Related News

Latest News

Trending News