अपडेट 
२०८१ बैशाख २१, शुक्रबार ०६:५०

राष्ट्रिय सूचना प्रविधि दिवसकै दिन भारतको एयरटेल कम्पनीले ब्यान्डविथ आपूर्ति गरेपछि नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधामा रोक लगाएपछि भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी पाउन सकेका छैनन् । जसकारणले भारतको एयरटेल कम्पनीले ब्यान्डविथ आपूर्ति नै बन्द गरिदिएको छ ।

मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वल्र्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार दिउँसोदेखि प्रभावित भएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले आपूर्ति रोकेको वल्र्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले जनाएका छन् ।

एयरटेलबाट ब्यान्डविथ आपूर्ति रोकिएपछि टाटालगायतका वैकल्पिक कम्पनीका ब्यान्डविथ इन्टरनेट सेवा सुस्तगतिमा चलिरहेको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरु इन्टरनेट सेवा प्रयोग गर्नबाट वञ्चित भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पनि विभिन्न पटक सञ्चार मन्त्रालयलाई पत्र लेखेर इन्टरनेट सेवा नै रोकिने अवस्था आउने भन्दै विदेशी मुद्रा सटही सुविधा दिन आग्रह गर्दै आएको थियो । तर सो मन्त्रालयले इन्टरनेट मर्मत सम्भारको शुल्कमा रोयल्टी र आरटीडीएफ दस्तुरको विवादलाई कारण देखाएर इन्टरनेट सेवाप्रदायक कम्पनीका अपस्ट्रिम इन्टरनेट सेवा प्रदायक कम्पनीलाई तिर्नुपर्ने रकम बराबर राष्ट्र बैंकबाट भुक्तानीका लागि विदेशी मुद्रा सटही गर्न आवश्यक सिफारिसपत्र दिनबाट अस्वीकार गर्दै आएको छ ।

करिब एक वर्षदेखि इन्टरनेट ब्यान्डविथ खरिद बापतको भुक्तानी गर्न नसकेपछि इन्टरनेट सेवाप्रदायकलाई अपस्ट्रिम कम्पनीले दबाव दिँदै आएका छन् । इन्टरनेट सेवा रोक्ने पटक– पटकको चेतावनीका बीच राष्ट्रिय सूचना प्रविधि दिवसकै दिन भारतीय कम्पनी एयरटेलले ब्यान्डविथको आपूर्ति बन्द गरेको छ ।

एयरटेलले आपूर्ति रोकेपछि करिब ६० प्रतिशत फाइबर इन्टरनेट बजार प्रभावित भएको अनुमान छ । नेपाल टेलिकमसहितका केही निजी सेवा प्रदायक बाहेकका करिब ७० लाख बढी इन्टरनेट प्रयोगकर्ता मर्कामा परेको जनाइएको छ । आइस्पानले जनाए अनुसार नेपालका इन्टरनेट सेवा प्रदायकहरुका अनुसार अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनीहरुलाई तिर्नुपर्ने रकम करिब ३ अर्ब रुपैयाँ पुगिसकेको छ ।

लामो समयदेखि रकम भुक्तानी नभएपछि ४ महिनाअघि अपस्ट्रिम नेटवर्क सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले तत्काm बाकी बक्यौताको रकम नदिएमा नयाँ वर्ष (सन् २०२४) देखि नेपालका लागि सेवा रोक्न सक्ने चेतावनीसमेत दिएका थिए । आइस्पानले भने पटक–पटक पत्राचार गरेर भुक्तानीको व्यवस्था मिलाउने आश्वासन दिएर सेवा रोकिन दिएको थिएन । सोको एक वर्षपछि भारतीय कम्पनी एयरटेलले इन्टरनेट सेवा नै अवरुद्ध गरेको छ ।

सञ्चारमन्त्री रेखा शर्माले इन्टरनट सेवाप्रदायकबाट इन्टरनेट मर्मत सम्भारको शुल्कमा रोयल्टी र आरटीडीएफ दस्तुर उठाउनका लागि सटही सुविधामा रोक लगाएको उनीहरुले आरोप लगाएका छन् । उनले यसै वर्ष सहसचिव गौरव गिरी नेतृत्वमा इन्टरनेट सेवाको मर्मत सम्भारमा कर छलिएको भन्दै एक छानबिन समितिसमेत बनाएकी थिइन् । सो समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले गत असोजमा ९ वटा सेवा प्रदायकबाट रोयल्टी, राजस्व तथा आरटीडीएफ दस्तुर गरी २ अर्ब ४७ करोड ३५ लाख ५९ हजार ९७८ रुपैयाँ असुल्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले अन्य सेवा प्रदायकहरुबाट पनि सपोर्ट शुल्क, प्राविधिक शुल्क, मर्मतलगायतका आयबाट तिर्नुपर्ने रोयल्टी र आरटीडीएफ दस्तुर यकिन गरेर उठाउन निर्देशन दिएको छ । तर सञ्चार मन्त्रालय र प्राधिकरणको निर्देशन सेवा प्रदायकहरुले नमानेपछि इन्टरने सेवा अवरुद्ध हुन पुगेको छ ।

Comment


Related News

Latest News

Trending News